काठमाडौँ। आज नेपालमा लोकतन्त्र स्थापना भएको १९ वर्ष पूरा भएको छ। तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामु घुँडा टेकेको दिनको सम्झनामा आज विविध कार्यक्रम सहित लोकतन्त्र दिवस मनाइँदै छ।
ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनः स्थापना गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनः स्थापना भएको थियो।
नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चलाए। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए।
शासन सत्ता आफ्नै हातमा लिएका ज्ञानेन्द्रले केही नेताहरूलाई जेल हालेका थिए। सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबिच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौँमा मानव सागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो । तत्कालीन राजाको हातबाट दलहरूले शासन सत्ता खोसेको सम्झनामा लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
तर स्थापनाको २ दशक हुँदा पनि जनताले लोकतन्त्रको प्रत्याभूति भने गर्न सकेको छैनन्। लोकतन्त्र स्थापना भएपछि २०६४ सालमा भएको निर्वाचनबाट गठित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्यको घोषणा गरेको थियो ।
२०७० सालमा दोस्रो पटक भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाबाट २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको थियो । संविधान जारी भइसकेपछि पनि दुई पटक आमनिर्वाचन भइसकेको छ। आवधिक निर्वाचनमार्फत तीनै तहमा जनताले आफ्ना प्रतिनिधि चयन गर्न पाएका छन् । प्रेस स्वतन्त्रता बलियो भएको छ ।
तथापि हालसम्म पनि राज्यका निकायले दिने सेवा पाउन सहज भएको छैन । रोजगारीका अवसर नहुँदा युवाहरू बिदेसिइरहेका छन् । जनताको मात्र नभएर देशकै आर्थिक अवस्था कमजोर बनेको छ । जनताले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा आखिर जनता नै आफ्ना अधिकारबाट विमुख हुनुपर्ने अवस्था आएकोमा प्रश्न खडा भएको छ ?
लोकतान्त्रिक व्यवस्थाको जग बलियो बनाउन लाग्नुपर्ने दलहरू सत्ता र शक्तिको संघर्ष लाग्दा नागरिकले संवैधानिक अधिकारसमेत उपयोग गर्न पाएका छैनन् । सधैँको राजनीतिक अस्थिरता, सरकारी निकायबिचको समन्वय अभाव हुँदा लोकतान्त्रिक व्यवस्थामा पनि जनता अधिकार उपयोग गर्नबाट बञ्चित भएका हुन् ।







