काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका १७ विभिन्न निकायमा रिक्त पद पूर्तिका लागि तयार पारिएको रोष्टर सूचीमा सहभागी हुन ठूलो संख्यामा आवेदन परेको छ।
मन्त्रालयका अनुसार निर्धारित समयभित्र कुल ४ हजार ३४८ जनाले आवेदन दिएका छन्। रोष्टर सूचीका लागि आवेदन वैशाख ३१ गते आह्वान गरिएको थियो भने जेठ ६ गतेसम्म अन्तिम म्याद तोकिएको थियो।
आवेदकमध्ये ३ हजार ४१४ पुरुष, ९२१ महिला र १३ जना अन्य लैंगिक पहिचान भएका व्यक्तिहरू रहेका छन्।
निकायगत रूपमा नेपाल पर्यटन बोर्ड मा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ ८५५ जनाले आवेदन दिएका छन्। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण मा ५७८ जनाको आवेदन परेको छ।
यसैगरी, पशुपति क्षेत्र विकास कोषमा ४७६ र लुम्बिनी क्षेत्र विकास कोष मा ४६५ जनाले आवेदन दिएका छन्।
मन्त्रालयअन्तर्गतका प्रज्ञा प्रतिष्ठानहरूमा पनि उल्लेख्य सहभागिता देखिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान का लागि ४३८, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान मा १९६ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मा १६६ जनाले आवेदन दिएका छन्।
अन्य निकायहरूमा पनि आवेदकहरूको राम्रो उपस्थिति देखिएको मन्त्रालयले जनाएको छ। हाल सबै आवेदनहरू मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छनोट प्रक्रियामा रहेका छन्।






