काठमाडौं । संघीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र प्रतिनिधि सभाका ६ जना सदस्यले सम्पत्ति विवरण पेश नगरेको पाइएको छ।
सचिवालयले जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेकोमा २५४ सांसदले समयमै विवरण बुझाए पनि ६ जनाले भने तोकिएको म्यादभित्र पेश नगरेका हुन्। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले यसबारे जानकारी दिएका छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा रहेका मन्त्रीहरू भने आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत बुझाउने प्रावधान छ। यसबीच एक बहालवाला मन्त्री र पदमुक्त भइसकेका एक सांसदले भने सचिवालयमै उपस्थित भएर विवरण बुझाएका छन्।
कानुनी व्यवस्थाअनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन तथा भ्रष्टाचार निवारण ऐनले सार्वजनिक पदमा रहेका व्यक्तिलाई पद सम्हालेको ६० दिनभित्र आफ्नो तथा परिवारको सम्पत्ति विवरण स्रोतसहित बुझाउन अनिवार्य गरेको छ। सोही व्यवस्था अनुसार सचिवालयले निर्वाचनपछि निर्वाचित सांसदहरूलाई समयसीमा तोकेर विवरण बुझाउन आह्वान गरेको थियो।
सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी का ५ जना र नेपाल कम्युनिस्ट पार्टी का १ जना रहेका छन्। नबुझाउनेमा धनबहादुर बुढा, आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन्।






