राजेन्द्र मल्ल सफल उद्यमी /व्यवसायी हुन् । आफ्नो बुवाले गरेको व्यवसायलाई सानैदेखि नियालिरहेका मल्लले २३ वर्षको उमेरदेखि नै व्यवसायमा पाइला चालेका थिए ।
काठमाडौंको शंखरापुर नगरपालिका अहिलेको वडा ३ मा जन्मिएका राजेन्द्र मल्लले एसएलसीसम्म भाग्योदय मावी साँखुमा अध्ययन गरे ।त्यसपछिको उच्च शिक्षा सरस्वती बहुमुखी क्याम्पसमा गरेका मल्लले अध्ययनकै क्रममा व्यावसायमा हात हालेका थिए । उनी सम्झन्छन्,’ व्यवसायीले आम्दानी गरेर हात्ती पनि पाल्न सक्छ । तर जागिरेले आफ्नो परिवारको खर्च पुर्याउन पनि धौधौ हुन सक्छ भनेर बुवाले सुनाउनुहुन्थ्यो ।’ बुवाको सोही कुराले उनलाई व्यवसायमा लाग्न झकझकाइरहन्थ्यो ।
उमेरले २३ वर्षमात्रै भएको समयमा २०४२ मा मल्लले साथीसँग मिलेर जोइन्ट भेन्चर कम्पनी सञ्चालन गर्न थाले । सो कम्पनीले अन्तराष्ट्रिय टेण्डरमा काम गर्ने र विभिन्न परियोजनालाई आवश्यक सामान आयात गर्ने गर्थ्यो । त्यसको केही वर्षमै एशियाटिक इन्टरनेसनल ट्रेडिङ कम्पनी सञ्चालन गरे मल्लले । जसबाट उनले अटोपार्ट्स लगायतका सामान आयात तथा बिक्री वितरण गर्दथे । ‘सिंगापुर, थाइल्याण्ड लगायतबाट अटोपार्ट्स नेपाल ल्याएर बिक्री वितरण गरियो,’ मल्ल भन्छन् । त्यसपछि कपडा, जुत्ता,इलेक्ट्रोनिक्स लगायत धेरै सामान आयात गरेर बिक्री मात्र गरेनन् विभिन्न क्षेत्रमा लगानी बढाउँदै गए ।

उनले आजभन्दा २८ वर्षअघि हालको प्रभु इन्स्योरेन्स कम्पनीमा समेत लगानी गरे र सञ्चालक बने । अहिले उनी प्रभु इन्स्योरेन्सको अध्यक्ष छन् भने निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष समेत हुन् । नेपाल चेम्बर्स अफ कमर्शका निवर्तमान अध्यक्ष समेत रहेका मल्लले लगानीमा विविधीकरण गरिरहेका छन् । कृषि, बुटिक होटल, जलविद्युत, इन्जिनियरिङ कलेज लगायतका क्षेत्रमा लगानी छ । हेलिकप्टरमा मनाङ एयर लगायतमा उनले लगानी गरेका छन् । अब उनी आईटी क्षेत्रमा पनि प्रवेश गर्ने तयारीमा छन् ।
उद्यमी तथा व्यवसायी राजेन्द्र मल्लसँग विशेष सम्वाद गरेका छौं । प्रश्तुत छ मल्लसँगको सम्वादको सम्पादित अंश :
नेपाल चेम्बर्स अफ कमर्सको निवर्तमान अध्यक्ष हुनुहुन्छ । तपाईंको कार्यकालमा सम्झनलायक के के कामहरू हुन सके ?
चेम्बर्स अफ कमर्समा मैले झण्डै २० वर्ष कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनें । हाल म निवर्तमान अध्यक्षको हैसियतमा छु । मैले जहिले पनि आर्थिक प्रणालीलाई सुदृढ गर्ने, व्यवसायी र सरकारबीच व्यवसायमैत्री वातावरण बनाउनका लागि कर र राजस्व वृद्धि गर्न धेरै सहयोग गरेको छु । भूकम्प, कोभिड तथा बाढीपहिरो गएको समयमा चेम्बरको अध्यक्षको रूपमा मात्र नभई व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रयास गरें । हामी व्यवसायी मात्र हैन नेपाली नागरिक पनि हो । आफूले कमाउने र रमाउनेमात्र नभई मुलुकको विकासमा पनि केही टेवा पुर्याउनुपर्छ भन्नेमा म छु । मेरो कमाईको केही अंश सामाजिक कार्यमा छुट्याएर सेवा गर्ने गरिरहेको छु । विशेषगरी मेरो जन्मस्थान शंखरापुरको मठमन्दीर पुननिर्माण, अक्षयकोष नै स्थापना गरिएको छ भने शाली नदीमा पनि पूर्वाधार र खानेपानीमा मैले सहयोग गरेको छु । मेरै अध्यक्षतामा पशुपतिको वनकालीमा गणेश भगवानको मन्दीर पूननिर्माण गरिएको छ । मैले आफूले सक्नेजति धार्मिक र सामाजिक काममा लगानी गरेको छु ।
अहिलेको अर्थतन्त्रको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
कोभिड महामारीदेखि नै नेपालमा निरन्तर अर्थतन्त्र सुस्त गतिमा गइरहेको छ । हामीसँग वैदेशिक मुद्रा प्रशस्त मात्रामा छ । झण्डै १६ महिना आयात गर्न पुग्ने वैदेशिक मुद्रा सञ्चिति भएपनि आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा र हामीसँग भएको पुँजी समयमै उत्पादनशीलमा लगानी गर्न नसक्दा समस्या परेको छ । नेपालमा सरकारको राजश्व आयातमुखी भएको अवस्था रहेको छ । यसलाई परिवर्तन गरेर जलस्रोत, आईटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न सक्नुपर्छ । हामी सबै मिलेर कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्नुपर्छ । यसका लागि नवीनतम सोच बनाएर अगाडि बढ्नुपर्छ । परम्परागत सोचले अगाडि बढ्न सकिँदैन ।
अहिले सरकारी संयन्त्रहरूले व्यवसायिक वातावरण बनाउनका लागि कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
अहिले सरकार शक्तिशाली भएपनि अर्थतन्त्रको सुधारमा बलियो सन्देश दिन सकेको छैन । भर्खरै विभिन्न अध्यादेश ल्याएर अर्थतन्त्रको विकास गर्ने प्रयास गरेको छ, जुन स्वागतयोग्य छ । यसको कारणले पनि केही व्यवसायीलाई प्रोत्साहित हुने, वैदेशिक लगानी नेपाल भित्रन सक्ने वातावरण सिर्जना भएको छ । तर कतिपय कुरा ऐन आउनका लागि नियमनकारी निर्देशिकाहरू समयमै बन्न नसकेको अवस्था छ । समयमै ऐन नियमन बनाएर अर्थतन्त्रलाई गति दिनेतर्फ सरकार लाग्नुपर्छ । त्यसो गर्न सकिएमा पक्कै पनि विगतका वर्षमा भन्दा केही राम्रो गर्न सकिन्छ भन्ने आशामा निजी क्षेत्र रहेको छ ।
अर्थतन्त्रको सुस्तताका कारण बीमा क्षेत्रमा कस्तो प्रभाव परिरहेको छ ?
अहिले बीमा क्षेत्रमा हरेक वर्ष व्यवसाय वृद्धि भइरहेको अवस्था छ । २०१५ मा गएको भूकम्पपछि बीमा सचेतना बढ्दै गएको छ । तर यसलाई अझै सुदृढ गर्नका लागि र तल्लो तहसम्म पुग्नका लागि हाम्रो नियमन नेपाल बीमा प्राधिकरणले सचेतना कार्यक्रम गर्नुपर्छ । बीमा गर्नु भनेको आफ्नो आर्थिक सुरक्षा गर्नु हो । यसलाई बाध्यताले गर्ने भन्दा पनि यो रहरले गर्नुपर्ने विषय हो । रहरले बीमा गर्ने परिस्थिति सिर्जना गरिनुपर्छ । बीमा क्षेत्रको विकासले अर्थतन्त्रको विकास गर्दछ । आम बीमाकर्तालाई पनि उनीहरूको भविष्य बीमाद्वारा सुनिश्चित हुन्छ । यसका लागि सबै पक्षले ध्यान दिनुपर्छ ।
बीमा कम्पनीहरूले सरकारी अनुदानको रकम नपाइरहेको समस्या छ । यस समस्या समाधानका लागि कसरी पहल गरिरहनुभएको छ ?
कृषि क्षेत्रमा सरकारले अनुदान दिनेका निकै स्वागतयोग्य थियो । तर बजेट अभावले यो अनुदान रकम समयमै निकासा हुन सकेको छैन । त्यसकारण किसानले सहजै यो अनुदान पाउन सकेको छैन । यसमा मुख्य समस्या भनेको नै सरकारले बीमामा दिने अनुदान प्रयाप्त मात्रामा बजेट नछुट्याइनु हो । तलतलसम्म यसलाई पुर्याउन जरूरी छ । सरकारले आफूले गर्न नसक्ने काम अगाडि बढाउनु भन्दा पनि बीमाको दायरा विस्तार तल्लो तहसम्म पुर्याउनका लागि काम गर्नुपर्छ । पहिले तल्लो तहमा किसानलाई जोड दिन पर्यो । बालीमात्र हैन किसानको नै बीमा गराउन जरूरी छ । किसानलाई पनि सहज हुने र सरकारले पनि समयमै दिन सक्ने बीचको विन्दुमा बसेर कृषिलाई प्राथमिकताका साथ बीमा कार्यक्रम अगाडि बढाउनुपर्छ । यस क्षेत्रलाई बलियो बनाउन सकिएमा मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ ।
बीमा लगानीकर्ताहरूको अहिलेको समस्या के–के छन् ?
कम्पनीहरूले हरेक वर्ष बीमा व्यवसाय वृद्धि गरिरहेका छन् । तर समस्याहरू छन् । नेपालमा दुई वटा पुनर्बीमा कम्पनी छन् । एउटा नेपाल रि इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स कम्पनीमा बीमामा आफ्नो स्टेकको १२ प्रतिशत नेपालमा पुनर्बीमा गराउनुपर्छ भनिएको छ । त्यसमा पनि ६ प्रतिशतका दरले दुवै कम्पनीलाई बाँडेर पुनर्बीमा गराउनु भनेर निर्देशन दिइएको छ । यो अप्ठ्यारो कुरा हो । पुनर्बीमा कम्पनीले धान्न सक्छ भने हामी १२ हैन २० प्रतिशत नै दिन तयार हो ।तर बीमा कम्पनीले रिइन्स्योरेन्स स्वइच्छाले छान्ने व्यवस्था हुनुपर्छ । निर्देशनात्मक रुपमा यसरी काम गर्दा बीमा प्रतिष्पर्धा पनि नहुने अवस्था सिर्जना भयो । यस व्यवस्थाको परिमार्जन हुनुपर्छ । पुनर्बीमा कम्पनीले काम नै नगरी प्रतिफल लिनु पनि अलि अस्वभाविक हुन्छ । त्यसैले यस व्यवस्थालाई हटाउनुपर्छ ।
अर्को समस्याको कुरा गरौं । कुनै पनि सञ्चालकले उसको स्वामित्वको सेयर बिक्री गर्न चाहेमा सञ्चालक पद छाडेको एक वर्षपछि मात्रै बिक्री गर्न पाइने व्यवस्था २०७५ पछि गरियो । यो एकदमै गलत छ । यसले व्यवसायमैत्री वातावरण नै भएन । यस्तो व्यवस्था संसारभर कतै पनि छैन । बरू केही वेथिति हुने लाग्छ भने खरिद गर्न चाहीँ नदिऔं, बिक्री गर्न दिनुपर्छ । यदि यस्तो व्यवस्था गरिएमा स्वदेश र अन्तराष्ट्रिय क्षेत्रमा पनि राम्रो सन्देश जान्छ ।यो विषयमा मैले सबै पक्षसँग पहल गरिरहेको छु । तर अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि यो ठीक हो भन्नुभएको छ । तर व्यवहारिक रूपमा अहिले सम्म यसलाई व्यवस्थित फुकुवा गरिएको छैन ।
बीमामा पुँजी वृद्धि भइरहेको छ । तर बीमाको दायरा विस्तार हुन सकिरहेको छैन । सम्बन्धित निकायहरूले कस्ता काम गरे दायरा पनि बढ्छ ?
दायरा बढाउनका लागि सरकारले गर्ने काम त गरिरहेको छ । तर हाम्रो मुलुकमा सरकार आफैंले चाहिँ बीमा गरेको छैन । सकेसम्म सरकारी भवनहरू बीमा गराउनुपर्छ । सरकारले ठूला ठूला पूर्वाधारको बीमा गराउन नसकेपनि भवनहरूको बीमा गराउन सक्छ । सरकारले आफ्नो सम्पत्तिको बीमा गराउनुपर्नेमा ध्यान दिनुपर्छ ।
आजको दिनमा बीमामा लगानी गर्दा कत्तिको सुरक्षित भइन्छ ?
नेपालमा बीमा र बैंकिङमा गरिएको लगानीले घाटा दिएको छैन । सबैभन्दा राम्रो क्षेत्र यही हो । केही न केही मुनाफा यस क्षेत्रले दिएको छ । जनताको लगानीमा बीमा क्षेत्र चलिरहेको छ । जसकारण राम्रो छ । जनमानससम्म नाफा बाँडफाँड हुने गरी अन्य कम्पनीहरूले पनि जनतालाई लगानीमा सहभागी गराउन सक्नुपर्छ ।
प्रभु इन्स्योरेन्सको कुरा गरौं । अन्य कम्पनीभन्दा के फरक छ यसमा ?
अहिले जतिपनि बीमा कम्पनीहरू मर्जर गरिरहेका छन् । तर प्रभु इन्स्योरेन्स मर्जर बिना नै अगाडि बढिरहेको छ । व्यवसायमा विगतमा भन्दा पनि वृद्धि भइरहेको अवस्था छ । त्यसकारण मर्जर जबरजस्ती गराउने भन्दा पनि व्यवसाय बिस्तारमा अगाडि बढाउनेतर्फ नियामकले भूमिका खेल्नुपर्छ । प्राधिकरणले नाफाको निश्चित प्रतिशत पुँजी वृद्धि गराउन तथा केही प्रतिशत मुनाफा बाँड्नुस् भन्ने जस्ता व्यवस्था गर्न सकेमा कम्पनीलाई एकैपटक पुँजी व्यवस्थापनको दवाव पर्दैन । एकैपटक पुँजी बढाउन निकै गाह्रो हुन्छ । अहिले पुँजी बढाउँदै जाँदा कति पुग्छ पुग्छ । सुरूवातमा ५ करोडमात्रै थियो । त्यसकारण राज्यले यस्ता नीतिहरू बनाउँदा ध्यान दिनुपर्छ । यदी त्यसो गरिएमा बीमाको मात्र नभई समग्र अर्थतन्त्रको विकास हुन्छ ।
अन्त्यमा प्रभु इन्स्योरेन्सलाई अग्रणी बीमा कम्पनीको रूपमा अगाडि बढाउनका लागि कस्तो योजना छ ?
प्रभु इन्स्योरेन्सलाई निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थानमा लैजान हामी प्रयत्नशील छौं । प्रभु इन्स्योरेन्सको क्षेत्र बढाउँदै लगिएको छ । म चेम्बरमा रहेको समयको धेरै क्षेत्रमा कम्पनीको व्यवसाय पनि वृद्धि भएको छ । आगामी दिनमा पनि यो वृद्धि हुन्छ ।
आम बीमा लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ?
बीमालाई तल्लो तहसम्म पुर्याउन सबैले काम गर्नुपर्छ । अस्वस्थ प्रतिष्पर्धा नगरेर सबै हातेमालो गर्दै दररेट निर्धारण गरेर भएपनि स्वस्थ व्यवसाय सबैले गर्नुपर्छ । यसतर्फ सबै लगानीकर्ताले ध्यान दिन जरूरी छ ।







