काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको खुद नाफामा गत आर्थिक वर्षको तुलनामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८४ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफामा समेत गिरावट आएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.१२ प्रतिशत घटेको हो । भने खुद फि तथा कमिशन आम्दानी १०९.०४ प्रतिशत बढेको छ। साथै, बैंकको कुल सञ्चालन आम्दानी २३.६८ प्रतिशत र सञ्चालन मुनाफा ८.८८ प्रतिशत घटेको हो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ करोड ८१ लाख रुपैयाँ रिभर्स भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर ५ रुपैयाँ ५६ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ।
अपरिष्कृत वित्तीय विवरण अनुसार २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४९.७७ गुणा रहेको छ ।
बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ७ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।







