काठमाडौँ। नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । निफ्राले साउन ८ गतेदेखि संस्थापक शेयर बिक्रीमा ल्याइएको थियो ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वको उक्त संस्थापक शेयरमा आज (साउन १५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन  सकिने कम्पनीले जनाएको छ ।  बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमा बिक्री गर्ने गरी १० लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयर धनी, सर्वसाधारण वा संघसंस्थाहरूले समेत आवेदन दिन पाउनेछन् । शेयर खरिदका लागि बोलकबोल गर्दा कम्तीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदको माग सहित आवेदन दिन सकिनेछ ।

आवेदन फाराम बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र वीरेन्द्रनगर शाखा कार्यालयमा बुझाउनु पर्नेछ ।