काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिविरुद्ध व्यापक विरोध चुलिएपछि राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरेका छन् । सोही सन्दर्भमा आइतबार लस एञ्जलसमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । सो क्रममा केही प्रदर्शनकारीले प्रमुख राजमार्ग (फ्रीवे) समेत अवरुद्ध गरे ।
प्रदर्शनका क्रममा स्वचालित सवारीसाधनहरूमा आगजनी भएपछि सुरक्षाकर्मीहरूले अश्रुग्यास र रबरको गोली प्रयोग गरे । भिड नियन्त्रण गर्न विस्फोटक पदार्थसमेत प्रयोग गरिएको थियो । साँझतिर धेरै प्रदर्शनकारी तितरबितर भए पनि केहीले सडकमा बनाइएका अवरोध पछाडि बसेर प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिरहे ।
क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि आक्रमण भएपछि उनीहरू ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए ।
४० लाख जनसङ्ख्या भएको लस एञ्जलसमा आइतबारको प्रदर्शन मुख्यतः सहरको केन्द्रमा केन्द्रित थियो । तीन दिनदेखि जारी विरोध प्रदर्शनमध्ये यो सबैभन्दा तीव्र थियो । ट्रम्पको आप्रवासन नीतिविरुद्धको असन्तोष चुलिँदै गएको देखिन्छ ।
करिब ३०० सुरक्षागार्डको तैनाथीले जनमानसमा थप आक्रोश र भय सिर्जना गरेको छ। सुरक्षागार्डहरूलाई विशेष गरी संघीय भवनहरू, विशेषतया डिटेन्सन सेन्टर जोगाउन पठाइएको थियो। लस एञ्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले “प्रदर्शनकारीको संख्याले हामीलाई थिचेको छ” भनी प्रतिक्रिया दिएका छन्।
बिहानैदेखि सुरक्षागार्डहरू राइफल र दङ्गा नियन्त्रण ढालसहित लामबद्ध देखिएका थिए। प्रदर्शनकारीहरूले भने ूघर फर्कू भन्ने नारा लगाउँदै सरकारविरुद्ध आक्रोश व्यक्त गरिरहेका थिए।
राष्ट्रपति ट्रम्पको प्रशासनले शनिबार २ हजार राष्ट्रिय सुरक्षागार्ड तैनाथ गर्ने घोषणा गरेको थियो । आप्रवासन छापामारीपछिको दोस्रो दिनको प्रदर्शनमा संघीय सुरक्षाकर्मीहरू सयौँ प्रदर्शनकारीहरूसँग आमनेसामने परेका थिए।
अमेरिकी रक्षा सचिव पीट हेगसेथले हिंसा बढेमा आवश्यक परे सक्रिय ड्युटीमा रहेका सैनिकहरू समेत परिचालन गर्न सकिने चेतावनी दिएका छन्। उनले क्याम्प पेन्डलटनस्थित मरीन फौजलाई उच्च सतर्कतामा राखिएको जानकारी पनि दिएका छन्।







