काठमाडौँ । चितवन खैरहनी नगरपालिका स्थायी घर भएका नारायण सुवेदी पछिल्लो पाँच वर्षयता नेशनल लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताका रूपमा कार्यरत छन् । यद्यपि पाँच वर्षकै अवधिमा उनी बीमा तथा वित्तीय सेवा प्रदान गर्ने एजेन्टहरूको लागि बनाइएको संस्था मिलियन डलर राउण्ड टेबलमा दुई पटक पर्न सफल भइसकेका छन् । आफ्नो कामप्रति सदा लगनशील रहँदै नैतिकतामा विश्वास राख्ने सुवेदी बीमा व्यवसायमा प्रवेश गर्दाको क्षण भने निकै नै रोचक छ ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका सुवेदीले देशभित्र र बाहिर विभिन्न पेशामा हात हाले । तर उनले सोचेको जस्तो कुनै क्षेत्रमा पनि आत्मसन्तुष्टि प्राप्त गर्न सकेनन् । एसएलसी उत्तीर्ण गर्ने बित्तिकै २०६४ सालमा चितवनबाट काठमाडौँ आएका सुवेदीले बीए पूरा गरेपछि शिक्षकको रूपमा समाजलाई सेवा गरे । उक्त पेशाले जीविकोपार्जन गर्न नसकिने बुझेपछि उनले हातमुख जोर्नका लागि वैदेशिक रोजगारी रोजे ।

२०६७ देखि २०७२ सम्म यूएईमा रहँका सुवेदीलाई धेरै नयाँ कुरा सिक्ने अवसर मिल्यो । त्यहाँ एउटा कम्पनीको ग्राहक सेवा केन्द्रमा रहेर काम गर्दा उनले ग्राहकलाई कसरी गुणस्तरीय सेवा प्रदान गर्दै सन्तुष्टि दिलाउन सकिन्छ भन्ने कुरा जान्ने मौका पाए ।

नेपालको तुलनामा युएईमा उनको जीवनशैलीको गुणस्तर राम्रै थियो । आम्दानी पनि सन्तोष गर्न लायक नै थियो । तर उनलाई विदेशमै पलायन हुन मन लागेन । आफ्नै मातृभूमिलाई सेवा गर्ने रहर बोकेर उनी विसं २०७२ मा नेपाल फर्किए । विदेशमा सिकेको सीप र तरिकालाई नेपालमा अवलम्बन गर्ने उनको चाहना थियो । तर त्यसमा उनले खासै सफलता भने पाउन सकेनन् ।

दक्ष र सीपयुक्त भइकन पनि सुवेदी नेपालको रोजगारी बजारमा बिक्न सकिरहेका थिएनन् । उनमा निराशमा चुलिँदो थियो । के गर्ने के गर्ने भन्ने दोधारमा थिए सुवेदी ।

कोभिड-१९ महामारी सुरु हुँदा ताका उनी सन्तानको बाबु बनिसकेका थिए । श्रीमती नेशनल लाइफ इन्स्योरेन्समा अभिकर्ताका रूपमा कार्यरत थिइन् । परिवारमा सुवेदीकी श्रीमती र छोरा दुवैले जीवन बीमा गरिसकेका थिए । तर आफ्नै श्रीमती अभिकर्ता भइरहँदा पनि सुवेदीले बीमाको महत्त्व बुझ्न सकिरहेका थिएनन् । उनले आफ्नो जीवन बीमा समेत गराएका थिएनन् ।

सुवेदीले हण्डर र ठक्कर खाएको देखेर होला उनकी श्रीमतीले एक दिन उनीसामु बीमा अभिकर्ता बन्न सुझाव दिइन् । विदेशमा रहँदा ग्राहक सेवा केन्द्रमा काम गरेको अनुभव र सीप अभिकर्ता बन्नमा काम लाग्ला कि भन्ने उनकी श्रीमतीले सोचेकी थिइन् ।

सुवेदी त्यस बेलासम्म पनि बीमालाई लिएर सकारात्मक थिएनन् । उनले प्रायः बीमा बारे नकारात्मक कुरा मात्रै सुनेका थिए । त्यसैले बीमाप्रति उनको धारणा नै नकारात्मकताले भरिएको थियो ।

श्रीमतीको अनुरोधलाई टार्न नसकेपछि उनी एक दिन श्रीमतीसँगै नेशनल लाइफको शाखामा पुगे । त्यहाँ सुवेदी, उनकी श्रीमती र इन्स्योरेन्सका शाखा प्रमुखबीच लामो कुराकानी नै भयो । त्यहाँ सुवेदीले बीमा बारे धेरै जिज्ञासा राखे । अनि उनकी श्रीमती र शाखा प्रमुखले झर्काे नमानी सुवेदीका सबै जिज्ञासा मेटाउने प्रयत्न गरिरहे ।

लामो संवादपछि बल्ल सुवेदी एउटा निष्कर्षमा पुगे । त्यस बेला उनले मनमनै आफैंसँग प्रश्न गरे, “ओहो । बीमाका बारेमा यति धेरै राम्रा कुरा रहेछन् । मैले किन यसबारे खालि नकारात्मक धारणा बनाएछु ?” जब बीमाका बारेमा उनीभित्र रहेका नकारात्मक सोच हटेर गए, तब उनले भित्रैबाट एउटा दृढ अठोट लिए, “अब म अभिकर्ता बनेर मानिसहरूलाई बीमाका फाइदाका बारेमा बताउँछु । आफ्नो लागि होइन, समाजका सबैलाई जीवनको सुरक्षा गर्न प्रोत्साहित गर्छु ।”

बीमाकर्ताको आर्थिक क्षमता र मनोभावना बुझ्न सक्नुपर्छ

उनी ठूलाभन्दा पनि ससाना बीमालेखलाई नागरिकको घरदैलोसम्म पुर्‍याउन पाउँदा खुशी लाग्ने गरेको सुनाउँछन् ।
“अभिकर्ता भनेको एकदमै संवेदनशील पेशा हो । यो पेशामा लाग्ने व्यक्तिहरूमा मानवीय संवेदना, धैर्यता र नैतिकता हुन जरुरी हुन्छ”, उनले आफ्नो अनुभव बताए । बीमाका बारेमा मानिसहरूका दिमागमा बन्ने चित्रका लागि अभिकर्ता नै जिम्मेवार हुने गरेको उनको भनाइ छ ।

“लाइसेन्स मात्र लिँदैमा तपाईं अभिकर्ता बन्न योग्य हुनुहुन्छ भन्ने हुँदैन । तपाईंले संख्यामा ध्यान दिनुहुन्छ कि गुणमा त्यसले बढी महत्त्व राख्छ”, आर्थिक भ्वाइससँग उनले भने । प्रायः अभिकर्ताले आफ्नो टार्गेट पूरा गराउनका लागि मात्र बीमालेख बिक्री गर्ने गरेको जनाउँदै त्यस्तो अभ्यासले बीमा व्यवसायमा कलंक थप्ने काम गरेको उनले बताए ।

“खासमा अभिकर्ताको काम भनेको बीमितलाई उपयुक्त हुने पोलिसी कुन हो, त्यसको बारेमा जानकारी दिनु हो । आफ्नो टार्गेट पूरा गर्न बिना अध्ययन बीमितलाई बीमा गर्न उक्साउने कार्यले कुनै पनि पक्षलाई राम्रो गर्दैन,” उनले अगाडि थप्दै भने, “त्यसैगरी बीमितले पनि एकै पटक ठूलो राशिको बीमालेख किन्छु भनेर हौसिनु हुँदैन । आम्दानी सधैं एकै नास रहँदैन । त्यसलाई विचार गरेर बरु सानै आकारको बीमालेख किन्नु राम्रो हुन्छ ।”

सुवेदी प्रायः समय आफ्नो क्लाइन्टलाई कुन बीमा पोलिसी ठीक हुन्छ होला भनेर अध्ययन गर्नमै आफ्नो समय बिताउँछन् । त्यही भएर आफूले बीमा गराएका व्यक्तिले आजसम्म सरेन्डर नगरेको उनी दाबी गर्छन् । बरु उनका क्लाइन्टले सम्पर्कमा आउने अरूलाई बीमाका लागि सिफारीस गरिदिने गरेका छन् ।

बीमितको आर्थिक क्षमतालाई राम्रोसँग अध्ययन तथा मूल्यांकन गरेर बीमालेख तयार पार्ने गरेकाले बीमितसँग दीर्घकालीन सम्बन्ध कायम गर्न सकेको उनी बताउँछन् ।

समय सधैं हुँदैन एकनास

सुवेदीले हालसम्म करिब ३ सय जनाभन्दा धेरैलाई बीमाको दायरामा ल्याएर सुरक्षा प्रदान गरिसकेका छन् । उनले हरेक महिनामा लगभग औसतमा १० वटासम्म पोलिसी बेच्ने गरेको सुनाउँछन् । तर अभिकर्ताका लागि पनि समय सधैं एकै खालको नहुने उनको बुझाइ छ ।

“२०८१ को जेठ महिना मेरो सम्झनामा सधैं आइरहन्छ । अरू महिनामा १० देखि १५ वटासम्म पोलिसी बेचेको रेकर्ड थियो । तर ०८१ को जेठ महिनामा मैले एउटा पनि पोलिसी बेच्न सकिनँ,” उनी विगतलाई सम्झन्छन् । त्यो समयले आफूलाई धैर्यता राख्न सिकाएको उनी बताउँछन् ।

“म अचेल पनि कहिलेकाहीँ आफूलाई संयमित बनाउनका लागि ०८१ को जेठ महिना सम्झिन्छु । आत्तिनु र मात्तिनु हुँदैन भन्ने कुरा मलाई त्यो कालखण्डले सिकाएको मानेको छु,” उनले भने ।

नेशनल लाइफको कलंकी शाखामा कार्यरत सुवेदीले देशका ६० भन्दा बढी जिल्लाका बीमाकर्तालाई प्रत्यक्ष तथा सामाजिक सञ्जालमार्फत् सम्पर्क गरी बीमाको सेवा प्रदान गरिसकेका छन् । उनले सामाजिक सञ्जाल सम्भावित बीमाकर्तासम्म पुग्न बीमा अभिकर्ताका लागि महत्त्वपूर्ण औजार रहेको मान्दछन् ।

बीमा शिक्षामा जोड दिन आवश्यक

२०७८ सालको जनगणनाका अनुसार देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । त्यसमध्ये आधा जनसंख्या पनि जीवन बीमाको दायरामा आइपुगेका छैनन् । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छाड्ने हो भने देशभरि करिब ७० प्रतिशत नागरिक बीमाको पहुँचबाट बाहिर रहेको हुन सक्ने सुवेदी औंल्याउँछन् ।

“खासमा बीमा भनेको बचत हो । तर बचतलाई बीमा कम्पनीमा बुझाउनुपर्ने किस्ता भनेर बुझ्ने/बुझाउने गरिएको छ । बीमा मानव जीवनका लागि अपरिहार्य हो भनेर सरकारी स्तरबाटै पनि बुझाउने प्रयास भएको देखिँदैन । सरकार र बीमा प्राधिकरण दुवैले पहल गरेका खण्डमा देशको शतप्रतिशत जनसंख्यालाई जीवन बीमाको दायरामा ल्याउन सकिन्छ,” उनले भने ।