काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेका ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकका अनुसार, उक्त शेयर प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमा बिक्रीका लागि खुला गरिएको छ। इच्छुक बैंकका संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ–संस्था लगायत सबैले यस शेयर किन्न सक्नेछन्।
यसअघि बैंकले सो शेयर आफ्ना विद्यमान संस्थापक शेयरधनीका लागि मात्र बिक्री खुला गरेको थियो। तर, सो अवधिमा कुनै आवेदन नपरेपछि बैंकले पुनः सबैका लागि खरिदको अवसर खुला गरेको जनाएको छ।
बैंकले जानकारी दिएको अनुसार, इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आफूले किन्न चाहेको शेयर संख्या र मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ।
शेयर खरिदका लागि आवेदन दिन कम्तीमा ५० हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ।