काठमाडौँ । पछिल्ला केही साता यता नेपाली बजारमा सुनको मूल्य एकपछि अर्को गर्दै आकासिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज महिनामा मात्र तोलामा २५ हजार भन्दा बढीले सुनको मूल्य बढेको छ।

आज साताको पहिलो कारोबारका दिन अर्थात् आइतबारका दिन ३ हजारले बढेर सूनको मूल्य २ लाख ३८ हजार कायम भएको छ। नेपालमा मात्र नभएर भारतसहित विश्वभर सुनको मूल्य बढिरहेको छ। अहिले सुनको मूल्य बढ्नुका पछाडि धेरै कारणहरू रहेको जानकारहरूको भनाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार गोल्डम्यान स्याक्सले एक अनुसन्धान परियोजनामा २०२६ को मध्यसम्ममा सुनको मूल्यमा थप वृद्धि हुन सक्ने बताएका छन् । अहिले सुनको मूल्य बढ्नुको सबैभन्दा आधारभूत कारण भनेको विश्वभर चलिरहेको सैन्य द्वन्द्व र आर्थिक उथलपुथल रहेको अध्यक्ष रसाइलीको भनाई छ ।

“धेरै लगानीकर्ताहरूले सुनलाई हेजिङ रणनीति अर्थात् जोखिम बचाउने रणनीतिको रूपमा प्रयोग गरिरहेका हुन्छन् । उनीहरूलाई शेयर बजारमा नोक्सानी हुने डर छ, त्यसैले उनीहरू सुनमा लगानी गर्ने विकल्प खोजिरहेका यसको प्रभाव नेपाली बजारमा समेत पर्न आएको छ । जसकारण सुनको मूल्यमा दैनिक रूपमा नयाँ उचाइ कायम भएको छ ” रसाइलीले भने।

साथै, अमेरिकी फेडरल रिजर्भको नीति परिवर्तनको आशाका कारण ब्याजदर घट्ने अपेक्षामा लगानीकर्ताले सुनमा बढी लगानी गरिरहेको मुख्य कारण मध्येको एक र मध्यपूर्व र युक्रेन–रुस युद्धले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा आकर्षक बनाएको कारण मानिसको लगानी सुनको थुप्रिन जाँदा सुनको मूल्य आकासिएको रसाइलीको भनाई छ।

अमेरिकी डलरको दर बढ्दा सुन आयात खर्च बढ्ने भएकाले नेपाली बजारमा मूल्य स्वतः बढ्छ। तसर्थ सुनको मूल्य बढ्नुको कारणलाई अध्यक्ष रसाइलीले केही बुँदागत रूपमा व्याख्या गरेका छन् ।

                   यस्तो छ उनको विश्लेषण

. अमेरिकी डलरको मजबुती र रूपैयाँको अवमूल्यन

  • अमेरिकी डलर बलियो हुँदा नेपाली रूपैयाँ कमजोर बन्छ।

  • रूपैयाँ कमजोर हुँदा सुन आयात गर्न बढी पैसा तिर्नुपर्छ → यसले मूल्य बढाउँछ।

विदेशी लगानी र केन्द्रीय बैंकहरूको सुन खरिद वृद्धि

    • विश्वका केन्द्रीय बैंकहरूले (विशेषतः चीन, भारत, टर्की) हाल सुनको ठूलो मात्रामा खरिद गरिरहेका छन्।

    • यसले विश्व बजारमा आपूर्ति घटाएर मूल्यमा दबाब बढाएको छ।

    • मुद्रास्फीति र आर्थिक अनिश्चितता

      • विश्वव्यापी मुद्रास्फीति दर अझै उच्च छ।

      • यस्तो अवस्थामा लगानीकर्ताले सुनलाई “मुद्रास्फीति विरुद्धको सुरक्षा (hedge against inflation)” को रूपमा प्रयोग गर्छन्।