काठमाडौं। लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ। माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड बिच “७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि सम्झौता भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न आज सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। लक्ष्मी सनराइज बैंकले ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मूल्य एक हजार रुपैयाँका दरले हुन आउने रकम तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ।
जसका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।







