काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

जेन–जीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि बैठकको आह्वान गरेका हुन्।

उनको मंगलबार जारी अपिलमा भनिएको छ, “कुनै पनि प्रकारको हिंसा राष्ट्रको हितमा छैन। शान्तिपूर्ण र संवादको माध्यमबाट समाधान खोज्नु नै हाम्रो मुख्य विधि हो। उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्ष निकाल्न सम्बद्ध पक्षसँग संवाद भइरहेको छ। त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको छु।”

प्रधानमन्त्रीले हिजो राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयमित रहन आग्रह पनि गरेका छन्। तर, आन्दोलनकारीहरूले देशभर व्यापक आन्दोलन जारी राखेका छन्।