ललितपुर, जेठ २ गते । नेपालमा नवप्रवर्तन, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड दिँदै वाणिज्य तथा अर्थशास्त्रीको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा दुई दिनसम्म चलेको सम्मेलनले नेपालमा व्यवस्थापन, वाणिज्य र व्यापारका विद्यार्थीको विश्वस्तरीय पहुँच वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सम्मेलनको समापनमा प्रस्तुत गरिएको आठबुँदे घोषणापत्रमा सरकारले निजी क्षेत्रसँग मिलेर आर्थिक रूपान्तरणको अभियानलाई सार्थकता दिनुपर्ने उल्लेख छ ।

आयोजक मेगा कलेजका प्राचार्य डा. घनश्यामप्रसाद साहले नेपाली प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले सम्मेलनबाट बौद्धिक लाभ लिएको बताउनुभयो । उहाँले शैक्षिक अनुसन्धानमा बजेट वृद्धि, निजी क्षेत्रसँग सहकार्य, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नवप्रवर्तन लगायतका सन्दर्भमा सम्मेलनले ठोस नीतिगत योगदान दिएको उल्लेख गर्नुभयो ।

“सधैँ विदेशीको अनुसन्धानलाई मात्र साभार गर्नुभन्दा नेपालकै अर्थशास्त्रीले नेपालकै बारेमा गरेका अनुसन्धानहरूलाई सम्मेलनमा प्राथमिकता दिएका थियौँ । सम्मेलनका निष्कर्षले विश्वविद्यालय र सरकार दुवैलाई नीतिगत मार्गनिर्देशन गर्ने अपेक्षा लिएका छौँ,” प्राचार्य डा. साहले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डिन प्राध्यापक डा. दिलीप पराजुलीले नेपाल आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्न लागेकाले अर्थशास्त्रीहरूले विशेष योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको कक्षा कोठामा मात्र सीमित रहने शैक्षिक अनुसन्धानलाई राज्यले नै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी भारतको बनारस हिन्दु विश्वविद्यालयका व्यवस्थापन सङ्काय प्रमुख प्राध्यापक डा. हरेन्द्रकुमार सिंहले शैक्षिक अनुसन्धानका क्षेत्रमा नेपाल र भारतबिच पर्याप्त सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राख्नुभयो ।

सम्मेलनमा दक्षिण एसियाली अनुसन्धानकर्ताका पाँच र नेपाली विद्यार्थीका नौ वटा अनुसन्धान पत्रमाथि छलफल भएको थियो । कलेजले यसअघि सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।