काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ ।

नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवद्र्धन गर्नुका साथै नेपाल र बङ्गलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाइएको बताए ।

उनले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबुत बनाइरहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बङ्गलादेशका जनतालाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले सांस्कृतिक तथा जनस्तरको आदानप्रदानमार्फत मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए ।

बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक एसके रेजाउद्दिन अहमद, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल तथा बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले पनि मन्तव्य व्यक्त गरेका थिए ।