काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल र विभिन्न संचार प्लेटफर्महरूमा लगाएको प्रतिबन्ध तथा भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भाद्र २३ गते आयोजना गरिएको जेन–जी युवा पुस्ताको शान्तिपूर्ण विरोध र्‍यालीमा भएको क्रुर दमनप्रति चितवनका निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निजी क्षेत्रका प्रतिनिधिहरूले प्रदर्शनमा संलग्न निशस्त्र युवा विद्यार्थीहरूमाथि सुरक्षाकर्मीको गोली प्रहार हुनु अत्यन्त दुखद र त्रासदिपूर्ण भएको बताएका छन्। यसले नेपालको वर्तमान संकटपूर्ण स्थिति प्रतिबिम्बित गरेको उल्लेख गर्दै, ज्यान गुमाएका युवा विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूका शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

साथै, निजी क्षेत्रले सामाजिक सञ्जाललाई आजको डिजिटल युगमा व्यक्तिको दैनिक जीवन मात्र नभई आय आर्जनको महत्वपूर्ण प्लेटफर्मका रूपमा विकास भएको बताउँदै, सरकारले मनोमानी ढंगले लगाएको बन्देज घोर आपत्तिजनक र अदूरदर्शी निर्णय भएको बताएका छन्। सूचना प्रविधिको माध्यमबाट विश्वका गरिब र अल्पविकसित मुलुकले समेत सार्वजनिक सेवा प्रदान गर्दै प्रविधिमा महत्वपूर्ण प्रगति हासिल गरेको अवस्थामा नेपालको यो निर्णय अस्वीकृत हुने जनाएको छ।

देशको अर्थतन्त्र दिनानुदिन नाजुक बन्दै गएको, श्रम पलायन बढेको, र युवा नवप्रवर्तक तथा उद्यमीहरू हतोत्साहित भएको अवस्थाबारे चिन्ता व्यक्त गर्दै निजी क्षेत्रले सरकारलाई तत्काल अमानवीय दमन बन्द गर्न, उद्यम व्यवसाय सुचारु गर्न र आम सर्वसाधारणको सहज आवागमन सुनिश्चित गर्न अपिल गरेको छ।

जेन–जी पुस्ताको माग केवल उनीहरूकै लागि नभई सम्पूर्ण नेपालीको उज्ज्वल भविष्यका लागि रहेको भन्दै निजी क्षेत्रले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी नयाँ पुस्ताका जायज मागहरूको समर्थन गरेको ऐक्यवद्धता जनाएको छ।