काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएको थियो । स्वीकृति पाएसँगै कम्पनीले ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो ।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडाबासीहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा ५० कित्तासम्म माग गर्न सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस १४ गतेसम्म र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

आयोजना प्रभावितले दुप्चेश्वर गाउँपालिकास्थित कम्पनीको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंककको खैरनिटार शाखा र काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।