काठमाडौं । अमेरिकाले आफ्नो भिसा नियम कडा गर्दै नेपाललाई ‘भिसा बन्ड’ लागू गर्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको पछिल्लो सूचना अनुसार अब नेपाली नागरिकहरूले अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन गर्दा धरौटी राख्नुपर्ने भएको छ। यो नियम २१ जनवरीदेखि लागू हुने बताइएको छ।
धरौटी रकम कन्सुलर अफिसरले आवेदकको व्यक्तिगत अवस्था हेरेर तय गर्नेछन्। न्यूनतम रकम ५ हजार अमेरिकी डलर र अधिकतम १५ हजार अमेरिकी डलर हुनेछ। धरौटी रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल pay.gov मार्फत मात्र सीधै बुझाउनुपर्नेछ, कुनै पनि तेस्रो पक्ष वा एजेन्टमार्फत भुक्तानी गर्नु निषेध गरिएको छ।
भिसा बन्डको नियम लागू भएपछि अमेरिका जाने नेपालीहरूले आफू इच्छित विमानस्थलबाट मात्र अमेरिका प्रवेश र बाहिरिन पाउनेछन्। जसमा न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डीसीस्थित डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल समावेश छन्। यीबाहेक अन्य विमानस्थल प्रयोग गर्दा धरौटी रकम जफत हुने र भविष्यमा प्रवेशमा रोक लाग्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले जारी गरेको छ।
धरौटी रकम फिर्ता कसरी हुन्छ?
धरौटी रकम पूर्ण रूपमा फिर्ता हुने व्यवस्था भए पनि त्यसका लागि आवेदकले तोकिएका सर्तहरू पूरा गर्नुपर्नेछ। आवेदकले निर्धारित समयभित्र अमेरिका छोड्नुपर्ने, भिसाको सर्त उल्लंघन नगर्ने, र तोकिएका तीन विमानस्थलबाट अमेरिका प्रवेश–निकास गरेको रेकर्ड प्रस्तुत गर्ने जस्ता शर्तहरू पूरा गर्नुपर्छ। भिसाको म्याद नाघेपछि वा अमेरिका पुगेर शरणार्थी हैसियतको दाबी गरेमा धरौटी रकम जफत हुने नियम रहेको छ।
अमेरिकाले यस ‘पाइलट प्रोग्राम’ मार्फत त्यस्ता देशका नागरिकलाई लक्षित गरेको छ, जहाँ समयमै फिर्ता नफर्कने प्रवृत्ति उच्च देखिएको छ। नेपालसँगै यस सूचीमा बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत ३८ देशहरू समावेश छन्। यस कदमले अमेरिका जाने नेपाली नागरिकलाई यात्रा योजना बनाउँदा अझै सचेत र व्यवस्थित हुन प्रेरित गर्ने गरेको जानकारहरुको भनाई छ।







