काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी निकायहरूमा सेवाग्राहीले भोग्दै आएको ढिलासुस्ती र झन्झट अन्त्य गर्न आफूहरूसँग स्पष्ट योजना रहेको बताएका छन्। बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले यस्तो धारणा राखेका हुन्।
नापी–मालपोत, पासपोर्ट वा लाइसेन्स लिन जाँदा, विश्वविद्यालयका प्रमाणपत्र निकाल्दा लामो समय लाइनमा बस्नुपर्ने, पालो कुर्दै बस्दा अन्तिममा कागजात नमिलेको भन्दै फर्काइने जस्ता समस्या आम नागरिकले भोग्दै आएको उनले उल्लेख गरे। कहिलेकाहीँ सेवा पाउन अनौपचारिक रूपमा अतिरिक्त रकम तिर्नुपर्ने अवस्था समेत रहेको भन्दै उनले यस्ता अभ्यास अन्त्य गर्न सकिने बताए।
देशमा केही पनि परिवर्तन नभएको भन्ने धारणा सही नभएको पनि उनले बताए। स्वास्थ्य मन्त्रालयमा काम गर्दा आफूले केही सकारात्मक सुधारको अनुभव गरेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट सेवा दिँदा सहजता आएको दाबी गरे।
सरकारले व्यवस्थित तरिकाले काम गरे धेरै समस्या समाधान गर्न सकिन्छ भन्ने आफूले बुझेको बताउँदै उनले ठोस योजनासहित अघि बढ्न तयार रहेको बताए। थापाका अनुसार उनको उद्देश्य ‘मिनिमम गभर्नमेन्ट बडी, म्याक्सिमम गभर्नेन्स’ लागू गर्नु हो।
नागरिकले सामान्य सेवा लिन सरकारी कार्यालय धाउनै नपर्ने अवस्था बनाउने लक्ष्य पनि उनले अघि सारे। राज्यका सेवा नागरिकको घरदैलोमै पुग्ने, र जानैपरे पनि एकपटकमै काम सकिने वातावरण बनाइने उनले बताए। सेवाग्राहीले अनावश्यक दुःख झेल्न नपरोस् भन्नेमा आफूहरूको ध्यान केन्द्रित रहेको उनको भनाइ छ।
यसका लागि करिब एक दर्जन कार्यक्रम तयार गरिएको उनले जानकारी दिए। डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तीन तहकै सरकारले छुट्टाछुट्टै काम गर्ने नभई एकै लाइनमा काम गर्ने तथा ‘एक नागरिक, एक परिचयपत्र’ प्रणाली लागू गर्ने जस्ता विषय प्राथमिकतामा राखिएको छ।







