काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको अर्थतन्त्रमा २०४८–०५१ को अवधि स्वर्णिम काल रहेको बताएका छन्। बिहीबार पार्टीको प्रतिज्ञापत्र सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अब दोस्रो चरणको आर्थिक सुधार अभियान सुरु गर्ने प्रतिबद्धता जनाए।

सभापति थापाका अनुसार, २०४८–०५१ का तीन वर्षमा कांग्रेसले सरकार सञ्चालन गर्दा केही ठूला सुधारात्मक कदम चालिएको थियो। त्यस बेला गरेका पहललाई कम्युनिस्ट शक्तिले विरोध गरेको भए पनि, आज नेपालमा भएका धेरै प्रगतिका आधारहरू त्यही कालको सुधारमा रहेको उनले बताए।

‘पहिलो चरणमा गरेका सुधारपछि दोस्रो चरणको सुरुवात गर्न सकेनौँ र रक्षात्मक बन्यौँ, जसका कारण हाम्रा धेरै सुधार रोकिए,अब दोस्रो चरणको आर्थिक सुधार अभियान सुरु गर्नुपर्छ।’ थापाले भने।

उनले त्यतिबेला सुधारको गति कायम भएको भए आज नेपालको प्रतिव्यक्ति आय २५ सय डलर पुग्ने दाबी पनि गरे।

सभापति थापाले अबको पाँच वर्षलाई “आर्थिक पुनरुत्थानको अर्धदशक” मान्दै दोस्रो चरणको सुधारबाट आर्थिक घाटा कभर गरी प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने योजना रहेको बताए। यसका लागि नेपालको अर्थतन्त्रको आकार बढाउन करिब १३७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने उनको भनाइ छ।