काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले ब्लकचेन प्रविधि र क्रिप्टोकरेन्सी जस्ता नयाँ वित्तीय प्रणालीबारे खुला धारणा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार पार्टीको प्रतिज्ञापत्रमाथि आयोजित प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले नेपालले प्रविधि र डिजिटल अर्थतन्त्रका विषयमा स्पष्ट र उदार दृष्टिकोण लिनुपर्ने बताए।
मौद्रिक प्रणालीलाई नै चुनौती दिने क्रिप्टोकरेन्सी के हो ? यसले कसरी काम गर्छ ?
थापाका अनुसार, विश्व प्रवृत्तिलाई ध्यानमा राख्दै नेपालले ब्लकचेनदेखि क्रिप्टोसम्मका विषयमा नीतिगत स्पष्टता ल्याउन आवश्यक छ। साथै, पुँजी बजारलाई विस्तार गरी धेरैभन्दा धेरै सर्वसाधारणलाई त्यसबाट लाभान्वित गराउने विषयमा पनि कांग्रेसले सोच बनाएको उनले उल्लेख गरे।
विदेशी लगानी आकर्षित गर्ने सवालमा नेपाल प्रतिस्पर्धी अवस्थामा नरहेको उनको भनाइ थियो। दक्षिण एसियामा लगानीको गन्तव्य छान्दा नेपाल पछाडि पर्ने अवस्था रहेको उल्लेख गर्दै उनले केवल भाषणले लगानी भित्र्याउन नसकिने बताए।
उनका अनुसार, ठोस नीतिगत सुधार, कर संरचनामा पुनरावलोकन तथा लगानीमैत्री वातावरण निर्माण गरेपछि मात्रै विदेशी पूँजी आकर्षित गर्न सकिनेछ।







