काठमाडौं। ब्लकचेन प्रविधिमा आधारित क्रिप्टोकरेन्सी विगत केही वर्षयता विश्व अर्थतन्त्र र वित्तीय प्रणालीमा व्यापक बहसको विषय बन्दै आएको छ। सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल कारोबारलाई केन्द्रीय नियन्त्रणभन्दा बाहिर राख्ने अवधारणाका रूपमा क्रिप्टोकरेन्सीलाई हेरिन थालिएको छ।

क्रिप्टोकरेन्सीले परम्परागत मौद्रिक प्रणालीमै ठूला परिवर्तन ल्याउन सक्ने सम्भावना रहेको बताइन्छ। आजको डिजिटल युगले भर्चुअल मुद्राको कल्पना गरेपछि क्रिप्टोकरेन्सीको जन्म भएको हो।

संसारमा मुद्रा विकासको इतिहास मानव सभ्यतासँगै जोडिएको छ। प्रारम्भिक चरणमा मानिसहरूले आफ्ना दैनिक आवश्यकता पूरा गर्न वस्तु–वस्तुबीच साटासाट गर्ने बार्टर प्रणाली प्रयोग गर्दथे। समयक्रमसँगै छाला, धातु तथा बहुमूल्य वस्तुलाई मूल्यको आधार मानेर प्रयोग गर्न थालियो।

‘क्रिप्टो माइनिङ’ को सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव

यही प्रक्रियाबाट विकसित हुँदै आजको अवस्थामा कागज र धातुबाट बनेका मुद्रा विश्वभर आम प्रचलनमा रहेका छन्। तर पछिल्लो समय परम्परागत मौद्रिक प्रणालीको विकल्पका रूपमा क्रिप्टोकरेन्सीले मौद्रिक प्रणालीलाई नै चुनौती दिइरहेको छ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी शब्द दुईवटा अंग्रेजी शब्द जोडिएर बनेको छ। क्रिप्टो अर्थात् गुप्त वा गूढ र करेन्सी अर्थात् मुद्रा। अतः शाब्दिक रूपमा क्रिप्टोकरेन्सी भन्नाले विनिमयको माध्यमका रूपमा काम गर्ने, संकेताक्षर (कोड) वा क्रिप्टोग्राफीद्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। यसको सिक्का र नोटजस्तो भौतिक अस्तित्व भने रहँदैन।

यसले कसरी काम गर्छ ?

यो पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित हुन्छ। देख्न वा छुन नसकिए पनि यसको निश्चित मूल्य हुन्छ र डिजिटल माध्यमबाट कारोबार गर्न सकिन्छ। परम्परागत मुद्राजस्तै यसलाई कुनै केन्द्रीय बैंक वा राज्यले नियन्त्रण गर्दैन, अर्थात् यसको नियमन गर्ने कुनै एकल केन्द्रीय निकाय हुँदैन।

परम्परागत मौद्रिक प्रणालीमा केन्द्रीय बैंकको प्रमुख भूमिका रहने गर्छ। मुद्रा आपूर्ति नियन्त्रण, ब्याजदर निर्धारण र वित्तीय स्थायित्व कायम गर्नु जस्ता कार्यहरू राज्यको नियन्त्रणमा हुन्छन्। तर क्रिप्टोकरेन्सी भने विकेन्द्रीकृत प्रणालीमा आधारित भएकाले यसले केन्द्रीय बैंकको भूमिकामाथि नै प्रश्न उठाएको छ।

वैधानिकतामाथि प्रश्न

सन् २००९ मा सार्वजनिक रूपमा आएको बिटकोइनलाई पहिलो क्रिप्टोकरेन्सी मानिन्छ, जुन ओपन–सोर्स सफ्टवेयरका रूपमा विकास गरिएको थियो। त्यसयता विश्वका धेरै मुलुकले कुनै न कुनै रूपमा क्रिप्टोकरेन्सीलाई मान्यता दिएका छन् र विश्वव्यापी रूपमा यस क्षेत्रमा खर्बौं अमेरिकी डलर बराबरको लगानी भएको अनुमान गरिन्छ।

तर पछिल्लो समय क्रिप्टो एक्सचेन्ज र कारोबारसँग सम्बन्धित ठगी, दुरुपयोग तथा अस्थिरताका घटनाहरू बाहिर आइरहँदा क्रिप्टोकरेन्सीमा गरिने लगानीलाई जोखिमपूर्ण रूपमा पनि हेरिन थालिएको छ। सोही कारण नेपालसहित कैयौँ मुलुकहरूमा क्रिप्टोकरेन्सी अवैधानिक छ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा कारोबार गर्न सकिने डिजिटल वस्तुका रूपमा परिभाषित गरेको छ। राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ।

यद्यपि क्रिप्टोकरेन्सीको वैधानिकताका विषयमा बेला–बेला बहस हुने गरेको छ। मौद्रिक प्रणालीमै हलचल ल्याउन सक्ने यस प्रणालीबारे गहन अध्ययन गरेर अघि बढ्नुपर्ने कतिपय विज्ञहरूको मत छ।

समग्रमा हेर्दा, ब्लकचेन प्रविधिमा आधारित क्रिप्टोकरेन्सीले विश्व मौद्रिक प्रणालीमा नयाँ सम्भावना र चुनौती दुवै प्रस्तुत गरेको देखिन्छ। परम्परागत मुद्राको विकल्पका रूपमा उदाउँदै आएको यस डिजिटल प्रणालीले वित्तीय कारोबारलाई छिटो, विकेन्द्रीकृत र प्रविधिमैत्री बनाउने क्षमता राखे पनि यसको अस्थिरता, नियमनको अभाव र ठगीजस्ता जोखिमहरूलाई बेवास्ता गर्न सकिँदैन।

नेपालजस्ता मुलुकमा कानुनी प्रतिबन्ध कायम रहँदा क्रिप्टोकरेन्सीप्रति बढ्दो चासोले थप बहस जन्माएको छ। त्यसैले यसले मौद्रिक प्रणालीमा पार्न सक्ने दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै पर्याप्त अध्ययन, स्पष्ट नीति र प्रभावकारी नियमनको आधारमा मात्र भविष्यका कदम चालिनु आवश्यक देखिन्छ।