काठमाडौं । भारतको नयाँदिल्लीको शाहदरा जिल्लास्थित विवेक विहार क्षेत्रमा शनिबार राति एक चारतले आवासीय भवनमा लागेको भीषण आगलागीमा परी ९ जनाको ज्यान गएको छ।

अधिकारीहरूका अनुसार आगोमा जलेर तथा धुवाँका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हो। घटनामा करिब १५ जनालाई भने जीवितै उद्धार गरिएको दमकल विभागले जनाएको छ।

आगलागी नियन्त्रणका लागि १५ वटा दमकल गाडी परिचालन गरिएको थियो। करिब तीन घण्टाको कठिन प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा भवनका विभिन्न तलाबाट शवहरू फेला परेका छन्—दोस्रो तलाबाट पाँच जना, तेस्रो तलाबाट एक जना र चौथो तलाको छत नजिक तीन जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार चौथो तलामा रहेका केही व्यक्तिहरू ज्यान जोगाउन छततर्फ पुगेका थिए। तर छतको ढोका बन्द भएकाले बाहिर निस्कन नसकी धुवाँमा निसास्सिँदा उनीहरू बेहोस भएका थिए।

शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले बिहान करिब ३स्४८ बजे आगलागीको सूचना प्राप्त भएको र त्यसलगत्तै उद्धार तथा नियन्त्रण कार्य सुरु गरिएको जानकारी दिएका छन्। प्रहरी, दमकल, क्राइम टिम तथा अन्य आपतकालीन निकायहरू तुरुन्तै घटनास्थलमा परिचालन गरिएको थियो।

दमकल विभागका अनुसार आगो मुख्यतः तेस्रो र चौथो तलाका फ्ल्याटहरूमा फैलिएको थियो। उद्धारका क्रममा १०–१५ जनालाई बाहिर निकालिएको थियो, जसमध्ये दुई जना सामान्य घाइते भएका छन् र उनीहरूको उपचार गुरु तेग बहादुर अस्पतालमा भइरहेको छ।

प्रारम्भिक रूपमा आगलागीको कारण विद्युत् सर्ट सर्किट हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। आगलागीपछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता समेत कडा बनाइएको छ।