काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनभित्र अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज ध्वस्त पारेको दाबी गरेका छन्। फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले यो जानकारी दिएका हुन्।
ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीमा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्याएको छ। उनले इरानको हवाई क्षमता कमजोर बनाइएको र देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणालीसमेत प्रभावित भएको दाबी गरे। ट्रम्पले अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताएका छन्।
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो सैन्य अभियान सुरु गरेको बताएका थिए। त्यसपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको बताइएको छ। इरानले यसको प्रतिकार स्वरूप क्षेत्रभित्र रहेका अमेरिकी तथा इजरायली लक्ष्यहरूमा निरन्तर आक्रमण गरिरहेको जनाइएको छ।
अर्ध–सरकारी तस्निम समाचार एजेन्सीका अनुसार पछिल्लो एक सातामा इरानी सेनाले करिब ६०० वटा मिसाइल प्रहार गरेको छ भने झन्डै २,६०० ड्रोन प्रयोग गरी आक्रमण गरेको जनाएको छ। ती आक्रमणहरू अमेरिका र इजरायलसँग सम्बन्धित करिब २०० सैन्य तथा रणनीतिक लक्ष्यहरूमा केन्द्रित रहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था अझ संवेदनशील बनाएको छ। पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द्व अझ फैलिने जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले अवस्थालाई नजिकबाट नियालिरहेको छ।







