काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले वृद्धि भई ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कर्जा ५.६ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँले वृद्धि भएको हो। २०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फको हिस्सा ६२.६ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ३७.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो।
संस्थागत आधारमा हेर्दा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा ३.० प्रतिशत र वित्त कम्पनीहरूको कर्जा १.८ प्रतिशतले वृद्धि भएको छ। माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये १५.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा रहेको छ भने ६३.८ प्रतिशत कर्जा घरजग्गा धितो सुरक्षणमा प्रवाहित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो।
क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशतले बढेको छ। त्यस्तै निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशत तथा सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि कृषि क्षेत्रतर्फ प्रवाहित कर्जा १.४ प्रतिशतले घटेको छ भने वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले कमी आएको छ। कर्जाका प्रकृतिअनुसार हेर्दा ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशतले बढेको छ।
त्यस्तै मार्जिन प्रकृतिको कर्जा ११.० प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत, क्यास क्रेडिट कर्जा २.१ प्रतिशत तथा माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले वृद्धि भएको छ। तर, सोही अवधिमा ओभरड्राफ्ट कर्जा भने ३.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
| बैंक/संस्थाको प्रकार | कर्जा प्रवाहको अवस्था | वृद्धि दर |
|---|---|---|
| वाणिज्य बैंकहरू | निजी क्षेत्रमा कर्जा प्रवाह | ४.२% वृद्धि |
| विकास बैंकहरू | निजी क्षेत्रमा कर्जा प्रवाह | ३.०% वृद्धि |
| वित्त कम्पनीहरू | निजी क्षेत्रमा कर्जा प्रवाह | १.८% वृद्धि |







