काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य रूपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले औद्योगिक कर्जा लगानी ११.९५ प्रतिशतले वृद्धि गर्दै झण्डै १७ खर्ब रुपैयाँको हाराहारीमा पुर्‍याएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा ११.९५ प्रतिशतले वृद्धि भई १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने औद्योगिक कर्जा ९.३५ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

कुल कर्जा लगानीमध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित भएको छ, जसको अंश ३५.२७ प्रतिशत रहेको छ । यस्तै, विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत तथा धातुका उत्पादन, मेसिनरी र इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा ४.२३ प्रतिशत कर्जा प्रवाह भएको छ । सबैभन्दा कम कर्जा भने खानीसम्बन्धी उद्योगमा प्रवाहित भएको छ, जसको हिस्सा ०.६९ प्रतिशत मात्र रहेको छ ।

त्यस्तै, प्रदेशगत रूपमा हेर्दा औद्योगिक कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । बागमती प्रदेशमा मात्रै १२ खर्ब ८० अर्ब ९७ करोड रुपैयाँ औद्योगिक कर्जा लगानी रहेको छ । यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

औद्योगिक कर्जाको प्रदेशगत हिस्सा हेर्दा कोशी प्रदेशमा ९.५ प्रतिशत, मधेश प्रदेशमा ७.५ प्रतिशत, बागमती प्रदेशमा ७१.३ प्रतिशत, गण्डकी प्रदेशमा १.६ प्रतिशत, लुम्बिनी प्रदेशमा ८.३ प्रतिशत, कर्णाली प्रदेशमा ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १.६ प्रतिशत कर्जा प्रवाहित भएको छ ।

नेपाल राष्ट्र बैंकले मुलुकको औद्योगिक क्षेत्र विकासका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरेको छ । प्राकृतिक स्रोतहरूको उपलब्धता, तुलनात्मक रूपमा सस्तो श्रमशक्ति, बैंकिङ पहुँचको विस्तार, घट्दो ब्याजदर, स्वदेशी उत्पादन र प्रयोगमा सरकारको प्राथमिकता, प्रविधिको बढ्दो प्रयोग तथा कृषिजन्य उत्पादनको प्रचुर उपलब्धताका कारण उद्योग क्षेत्रमा दीर्घकालीन सम्भावना रहेको राष्ट्र बैंकको निष्कर्ष छ ।