काठमाडौं । चितवन–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेकी छन्। निर्वाचन आयोग र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को प्रावधानअनुसार उनले निर्वाचन अवधिमा भएको सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाएकी हुन्।
उनको खर्च विवरणअनुसार, उम्मेदवारी दर्ताका लागि ५ हजार रुपैयाँ खर्च भएको छ। प्रचार–प्रसार सामग्रीमा करिब ३ लाख १७ हजार रुपैयाँ खर्च भएको छ भने मतदाता प्रशिक्षणका लागि १ दिनमा ३० हजार रुपैयाँ खर्च गरिएको देखिन्छ। नमुना मतपत्र र घोषणा पत्र छपाइमा ७४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ।
वडा–स्तरीय प्रचार–प्रसारका लागि सञ्चालन गरिएको २८ वडाका कार्यक्रममा करिब १ लाख रुपैयाँ खर्च भएको छ। १५ दिनका लागि सवारी साधन प्रयोग गर्दा चालकसहित ३ लाख २५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। सचिवालयका लागि स्टेशनरीमा २३ हजार ४४५ रुपैयाँ खर्च भएको पनि देखिन्छ।
निर्वाचन अभियानका क्रममा खाद्यान्न, रासन र पानी व्यवस्थापनमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ। समग्रमा विभिन्न शीर्षकमा भएको खर्च जोड्दा कुल ९ लाख ९३ हजार ४५ रुपैयाँ निर्वाचन खर्च भएको विवरणमा उल्लेख गरिएको छ।







