काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा (साउन–फागुन) सरकारले अपेक्षित राजस्वको आधा मात्रै संकलन गर्न सकेको छ। अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार, यस अवधिमा जम्मा ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ५०.४९ प्रतिशत मात्र हो।
सरकारले चालु आर्थिक वर्षको लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। यसमा कर राजस्व ६ खर्ब ७६ अर्ब र गैरकर राजस्व ७० अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, सरकारले पाएको अनुदानको रकम १३ अर्ब रुपैयाँ छ।
राजस्व संकलन र खर्चको विवरण अनुसार, फागुनसम्ममा सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब पुगेको छ। यस आधारमा चालु आर्थिक वर्षको फागुनसम्ममा बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ, जसले सरकार दैनिक प्रशासनिक खर्चमै ऋणमा निर्भर रहनुपर्ने स्थिति देखाएको छ।
फागुनसम्ममा सरकारको चालु खर्च ६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ, जुन ११ खर्ब ५० अर्बको कुल लक्ष्यको ५४.३७ प्रतिशत मात्र हो। विकास निर्माणका लागि पुँजीगत खर्च ७८ अर्ब रुपैयाँ मात्र भएको छ, जुन ४ अर्ब ७ अर्ब रुपैयाँको लक्ष्यको १९.२४ प्रतिशत मात्रै हो। आठ महिनामा सरकारले विकास निर्माण खर्चमा अपेक्षित २० प्रतिशत पनि पुर्याउन सकेको छैन।







