काठमाडौं । सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार असोजमा १ खर्ब ३ अर्ब ७ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा असोज मसान्तसम्म ९२ अर्ब ४७ करोड रूपैयाँ राजस्व उठेको छ । जुन लक्ष्यको ८९.७१ प्रतिशत हो ।
असोज ३१ गते मात्र ८ अर्ब ६ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०८२/८३ मा राजस्व संकलनको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ । असोजसम्मको लक्ष्य चाहिँ ३ खर्ब २१ अर्ब ५३ करोड थियो ।
तर, असोज ३१ सम्मको जम्मा संकलन २ खर्ब ५१ अर्ब १८ करोड रूपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । जुन लक्ष्यको ७८.१२ प्रतिशत हो ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको थियो । उक्त वर्ष असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड थियो ।
मन्त्रालयका अनुसार अघिल्लो वर्ष असोज ३१ गतेसम्मको जम्मा संकलन २ खर्ब ५३ अर्ब १ करोड र असोज महिनाको संकलन ८३ अर्ब ५० करोड थियो ।







