काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ बराबरको राजश्व संकलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व संकलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो । असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४ सय ८१ रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो । विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व संकलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७ सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६ सय ४५, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५ सय ४५ बराबरको राजस्व संकलन गरेको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलंकी मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६ सय ३२, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६सय ६५ बराबरको राजस्व संकलन गरेको छ ।

मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४ सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पुँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८ सय २० संकलन गरेको छ ।

विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८ सय ८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ बराबरको राजस्व संकलन भएको थियो ।