काठमाडौँ। चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप करिब ६ खर्ब रुपैयाँले बढ्दा कर्जा विस्तार भने तुलनात्मक रूपमा निकै न्यून देखिएको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंकहरूको कुल निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको हो।
सोही अवधिमा कर्जा प्रवाह भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले मात्रै बढेको छ। गत असारमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप चैत मसान्तसम्म ९.१४ प्रतिशतले वृद्धि भई ७१ खर्ब २७ अर्ब ९६ करोड रुपैयाँ पुगेको देखिन्छ।
त्यस्तै, कर्जा प्रवाहमा भने वृद्धि भए पनि तुलनात्मक रूपमा निकै कम देखिएको छ। गत असार मसान्तमा ५० खर्ब २५ अर्ब २१ करोड रुपैयाँ रहेको कुल कर्जा चैत मसान्तसम्म ५.५६ प्रतिशतले बढेर ५२ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ९.१४ प्रतिशतले बढ्दा कर्जा वृद्धि भने करिब साढे ५ प्रतिशतमा सीमित भएको हो।
कुन बैंकको निक्षेप कतिले बढ्यो ?
हाल अस्तित्वमा रहेका २० वटा वाणिज्य बैंकहरुको निक्षेप संकलनको वर्तमान अवस्था निम्न तालिकामा उल्लेख गरिएको छ , जसअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको निक्षेप करिब ९८ अर्ब ३८ करोड रुपैयाँले बढेर ५ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। ग्लोबल आईएमई बैंकको निक्षेप ८० अर्ब ६४ करोड रुपैयाँले वृद्धि भई ६ खर्ब ५५ अर्ब ६९ करोड पुगेको छ।

यस्तै, नबिल बैंकको निक्षेप ५६ अर्ब ६० करोड रुपैयाँले बढेर ५ खर्ब ८८ अर्ब ८४ करोड, नेपाल बैंकको ५२ अर्ब ८६ करोडले बढेर ३ खर्ब ८६ अर्ब ७३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५२ अर्ब ९२ करोडले वृद्धि भई ५ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। तर प्रभु बैंकको निक्षेप संकलन भने घटेको तालिकामा देख्न सकिन्छ।
कर्जा विस्तारमा बैंकहरूको अवस्था
हाल अस्तित्वमा रहेका २० वटा वाणिज्य बैंकहरुको कर्जा प्रवाहको वर्तमान अवस्था निम्न तालिकामा उल्लेख गरिएको छ।

यो अवधिमा एभरेष्ट बैंकको कर्जा प्रवाह वृद्धीदर सबैभन्दा बढी छ। बैंकको कर्जा ३९ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ, जुन १७.४८ प्रतिशत वृद्धि हो।
प्रतिशतका आधारमा माछापुच्छ्रे बैंकले १२.८२ प्रतिशतले कर्जा विस्तार वृद्धि गरेको छ। नबिल बैंकको कर्जा ८.९३ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब ४० करोड, र ग्लोबल आईएमई बैंकको ८.०७ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको कर्जा ९.७६ प्रतिशतले बढेर ३ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। तर स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंक र प्रभु बैंकको कर्जा प्रवाह भने घटेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको बैंकिङ तथ्यांकले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको स्पष्ट रुपमा देखाएको छ। निक्षेप करिब ६ खर्ब रुपैयाँले उल्लेख्य रूपमा बढ्दा कर्जा प्रवाह भने करिब २ खर्ब ७६ अर्ब रुपैयाँमा मात्रै सीमित रहनुले बैंकिङ प्रणालीमा निक्षेप संकलन र ऋण प्रवाहबीच ठूलो असन्तुलन रहेको देखिन्छ।
यस अवस्थाले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको तर सोही अनुपातमा कर्जा माग कमजोर रहेको संकेत गर्छ। निक्षेप वृद्धि ९ प्रतिशतभन्दा माथि पुग्दा कर्जा वृद्धि करिब साढे ५ प्रतिशतमा सीमित रहनुले बजारमा तरलता प्रशस्त भए पनि उत्पादनशील क्षेत्रमा ऋण माग अपेक्षाकृत कमजोर रहेको पुष्टि हुन्छ।
तरलता बढी हुँदा सामान्यतः ब्याजदर घट्ने दबाब रहन्छ, जसले बैंकहरूको नाफा मार्जिनमा असर पार्न थालेको छ। साथै, कर्जा विस्तार कमजोर हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता दीर्घकालीन रूपमा निष्क्रिय पूँजीको रूपमा थुप्रिने जोखिम पनि कायम छ।
समग्रमा वर्तमान अवस्था मौद्रिक प्रणालीमा तरलता पर्याप्त भए पनि त्यसलाई उत्पादनशील कर्जा विस्तारमा रूपान्तरण गर्न नसकिएको स्थिति हो, जसले आर्थिक गतिविधिको गति अपेक्षाकृत सुस्त रहेको देखाएको छ।







