काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कुनै पनि व्यक्तिलाई काममा नलगाउन सबै सम्बन्धित पक्षलाई सचेत गराएको छ।

शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा मन्त्रालयले केही अस्पताल तथा स्वास्थ्य संस्थासहित विभिन्न प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ र अन्य कर्मचारीलाई कानुनी प्रक्रिया पूरा नगरी काममा लगाइएको तथा तोकिएकोभन्दा बढी समय काम गराइएको भन्ने गुनासो प्राप्त भएको उल्लेख छ। यस विषयमा मन्त्रालयले गम्भीर ध्यान दिएको पनि जनाएको छ।

‘श्रम ऐन, २०७४ को दफा २ (ढ) मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रसमेतलाई जनाउँछ’ भन्ने व्यवस्था छ ।

कानुनअनुसार दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने व्यवस्था छ। अतिरिक्त काम गराउनुपर्ने अवस्थामा पनि प्रतिदिन बढीमा ४ घण्टा र हप्तामा २४ घण्टासम्म मात्र अनुमति रहेको स्पष्ट गरिएको छ।

मन्त्रालयले सबै निकायलाई प्रचलित श्रम कानुनको पालना गर्न आग्रह गर्दै नियमविपरीत कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।