काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरूमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन् घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्री ओलीले टिपपणी गरेका छन् ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा पर्यो भने ऋण असुल गर्न हतार गर्ने होइन, ऋण थपेर त्यसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो लिनुपर्छ। उद्योगहरुको सन्दर्भमा पनि त्यही हो।’ उद्योगी व्यवसायीहरू अप्ठ्यारोमा परे भने बैंकहरुको ध्यान हतार–हतार असुल्नतिर जाने गरेको छ । त्यस्तो व्यवहार नगर्न म सुझाव दिन चाहन्छु’ ओलीले भने
आफ्नो भनाइ थप प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’ कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ परिस्थितिले अप्ठ्याराहरू आउने बताए ।
साथै, प्रधानमन्त्री ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराएका छन् उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।







