काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकले बैंकको खुद ब्याज आम्दानीमा गिरावट आउँदा समग्र नाफामा पनि दबाब परेको देखाएको छ।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.०३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
ब्याज आम्दानीमा आएको संकुचनका कारण कम्पनीको नाफा समेत २८.५३ प्रतिशतले घट्न पुगेको छ । कम्पनीले ६४ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ९० करोड रुपैयाँबराबरको खुद नाफा संकलन गरेको थियो ।
कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । अघिल्लो आवमा १ करोड ३३ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर २ करोड २२ लाख पुगेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ९२ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवमा भने १ अर्ब २८ करोड रहेको थियो । यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको निक्षेप संकलन ७ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २४ अर्ब ५० करोडबाट बढेर २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ३ अर्ब ४२ करोड रुपैयाँको सञ्चित रहेको छ ।
वित्तीय सूचकतर्फ हेर्दा, समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ रहेको छ। मूल्य–आम्दानी अनुपात ६७.४४ गुणा, तरलता अनुपात ११०.१० प्रतिशत तथा इक्विटीमा प्रतिफल ३.३८ प्रतिशत रहेको छ।







