तनहुँ । दमौली-लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको छ । जग्गा रोक्का भइसकेको विषयमा समयमा जानकारी नपाएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाएका छन्।
ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य, विजय वाग्लेलगायत स्थानीयले आफ्नो मुख्य सम्पत्ति उक्त जग्गा भएको उल्लेख गर्दै न्यायोचित क्षतिपूर्तिको माग गरेका छन् । “हाम्रो सम्पत्ति त्यही जग्गा हो, अरु केही छैन । पहिल्यै जग्गा रोक्का भएको रहेछ, पछि मात्रै थाहा पायौँ”, पण्डितले भने । प्रसारण लाइनको तार घरमाथिबाट लैजाँदा जोखिम बढ्ने भएकाले टावरको स्थान अन्यत्र सार्न उनले आग्रह गरे।
स्थानीय वाग्लेले आफूहरूलाई पर्याप्त जानकारी नदिई प्रक्रिया अघि बढाइएकामा गुनासो गर्दै प्रभावित क्षेत्रका बासिन्दासँग समन्वय नगरी काम अगाडि बढाउँदा अन्योल सिर्जना भएको बताए । उनले पारदर्शी ढङ्गले मूल्याङ्कन गरी उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरे।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले मुआब्जा निर्धारणको प्रक्रिया बाँकी रहेको जनाउँदै प्रभावित जग्गाको विवरणका आधारमा मुआब्जा निर्धारण गरी वितरण गरिने बताए । आयोजना प्रमुख जगदीश पौडेलले आयोजनाको काममा ढिलाइ हुँदा निर्माण व्यवसायीले समेत क्षतिपूर्ति माग गर्न थालेका बताउँदै समयमा काम सम्पन्न गर्न स्थानीयको सहयोग आवश्यक रहेकामा जोड दिए।
करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउने, तनहुँ जलविद्युत् आयोजनालगायत जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत्को प्रभावकारी प्रसारण सुनिश्चित गर्ने विश्वास सरोकार भएकाहरूले लिएका छन्।







