
काठमाडौं। देशका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा त्यहाँबाट हुने वैदेशिक व्यापार अत्यन्त न्यून देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्मको अवधिमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत करिब ४६ लाख ५ हजार रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको छ। यस अवधिमा उक्त विमानस्थलबाट निर्यात भने शून्य रहेको छ।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने सो अवधिमा कुनै पनि आयात–निर्यात गतिविधि नभएको देखिन्छ। यी दुवै विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा व्यापार प्रभावित भएको देखिन्छ।
विमानस्थलमार्फत हुने अधिकांश वैदेशिक व्यापार भने काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको छ। सो विमानस्थलबाट ९ महिनाको अवधिमा करिब १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ, जुन कुल आयातको १०.५५ प्रतिशत हो। यस अवधिमा कुल आयात करिब १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।
निर्याततर्फ पनि त्रिभुवन विमानस्थलको योगदान उल्लेखनीय छ। सो विमानस्थलबाट २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जुन कुल निर्यातको ११.९३ प्रतिशत हो। चैतसम्म कुल निर्यात करिब २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।
यस्तै, भन्सार नाकामध्ये सबैभन्दा बढी व्यापार वीरगञ्जबाट हुने गरेको छ। तथ्यांकअनुसार वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र निर्यातको ३५.६९ प्रतिशत हिस्सा ओगटिएको छ। सो नाकाबाट ६ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको आयात र ७९ अर्ब ५५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।






