काठमाडौँ। यस अगाडि १४ घण्टा मात्रै सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोमबारदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरेको जनाएको छ । गत कात्तिक २३ गतेदेखि विमानस्थलको सञ्चालन अवधि घटाएर दैनिक १४ घण्टा मात्र राखिएको थियो ।

धावनमार्गसँग जोड्ने लिंक वे निर्माण कार्य सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार विमानस्थल सञ्चालन गर्न सकिने अवस्था भएकोले अब बिहान ६ बजेदेखि नै विमानस्थल खोलिने र राति १२ बजे बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र थियो । स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै सुरक्षा तथा उडान क्षमतामा सुधार आएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढ्ने अपेक्षा राखिएको विमानस्थल कार्यालयले जनाउको छ।

हालको नयाँ समय तालिका भने कात्तिक २३ अघिको भन्दा केही छोटो छ। स्तरोन्नति अघि विमानस्थल राति २ः ३० बजेसम्म सञ्चालनमा रहन्थ्यो भने बिहान ६ बजेभन्दा अघि नै खुल्थ्यो। तर, नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा तथा बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ ।