काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) बिक्री प्रक्रिया आजबाट सुरु गरेको छ।
कम्पनीले कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति प्राप्त गरेको हो। तीमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रभित्र पनि अत्यधिक प्रभावित र अन्य प्रभावित बासिन्दाबीच फरक अनुपातमा सेयर वितरण गरिने व्यवस्था गरिएको छ।
सर्वसाधारणतर्फको कोटाभित्रबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ। श्रम स्वीकृति प्राप्त नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले भने माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सोलुखुम्बुस्थित सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट समेत आवेदन गर्न सकिनेछ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी बीबी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले लिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन अवधि छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन छिटोमा वैशाख २३ गते र अधिकतम वैशाख ३१ गतेसम्म खुला रहनेछ।
यस चरणको वितरण सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको जनाएको छ।







