काठमाडौं। अमेरिका र इजरायलले इरानमा सैन्य कारबाही सुरु गरेपछि मध्यपूर्वमा बढेको तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। पछिल्लो तथ्यांकअनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ११९.७६ डलर पुगेको छ, जुन सन् २०२२ यताकै उच्च स्तर हो।
सन् २०२२ को रुस–युक्रेन युद्धका क्रममा कच्चा तेलको मूल्य झण्डै १३० डलर प्रतिव्यारेलसम्म पुगेको थियो। त्यसपछि केही समय घटेको मूल्य अहिले पुनः उकालो लागेको देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी कडा अभिव्यक्तिले पनि बजारमा अस्थिरता बढाएको छ। ट्रम्पले इरानले परमाणु सम्झौतामा सहमति नजनाएसम्म त्यहाँका बन्दरगाहमा नाकाबन्दी जारी रहने चेतावनी दिएका छन्।
यस तनावको प्रत्यक्ष असर विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजमा परेको छ। इरानको प्रभाव क्षेत्रभित्र पर्ने यो समुद्री मार्गबाट ठूलो मात्रामा कच्चा तेल र ग्यास विश्व बजारमा आपूर्ति हुने गर्छ।
हालको असुरक्षा र तनावका कारण सयौँ तेल ट्यांकर तथा जहाजहरू प्रभावित बनेका छन्, जसले आपूर्ति श्रृंखला अवरुद्ध हुँदा विश्वभर तेल तथा ऊर्जा मूल्यमा वृद्धि भएको छ।
यसैबीच, तनाव कम गर्न अमेरिका र इरानबीच पाकिस्तानमार्फत वार्ता प्रयास भइरहेको भए पनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन।







