राज्यले जारी गरेका मुद्राहरू (बैंक नोट अर्थात् बोलीचालीमा रुपैयाँ र सिक्काहरू) मा देखिने फोटो, चित्र तथा शब्दहरूले राज्यको गौरवपूर्ण इतिहास, धार्मिक/सांस्कृतिक विरासत र विशिष्ट पहिचानहरू प्रतिविम्बित गरिरहेका हुन्छन् ।
मुद्राहरू देशको सार्वभौमिकताका प्रतीक हुन् । मुलुकको इतिहास, सभ्यता, संस्कृति, मौलिक परम्परा, रीतिरिवाज लगायतलाई कुनै एक दस्तावेजमा समुच्च रूपमा प्रदर्शित गर्न सकिन्छ भने त्यो मुद्रामा सम्भव छ । यस अर्थमा मुद्राहरू राष्ट्रिय धरोहर हुन्, एक जीवन्त, चलता–फिरता सङ्ग्रहालय हुन् । मुद्राहरू राज्यको परिचायक संवाहक, स्वाभिमानका द्योतक र राष्ट्रिय एकताका सुत्र हुन् ।
मुद्रामा अङ्कित विभिन्न चित्रका अलगअलग विशिष्ट र गौरवशाली आयाम हुन्छन् । तसर्थ, मुद्रामा अङ्कित विविध चित्रका सन्दर्भमा समसामयिक चर्चा, छलफल, अन्वेषण गरिनु र तिनको गरिमालाई अझै ओजपूर्ण बनाउँदै लैजानु हामी सबैको साझा कर्तव्य हुने ठहर्छ ।
‘मुद्रा’ शब्दले चलनचल्तीमा आएका/ल्याइएका राज्यबाट जारी बैंक कागजी मुद्रा अर्थात् बैंक नोटहरू र सिक्काहरू दुवैलाई जनाउनेछ । तर सिक्काको विषय आफैमा छुट्टै विशिष्ट अध्याय भएको र यस सङ्क्षिप्त लेखमा सो विषय समेट्न असम्भवप्रायः भएकाले, सिक्काका एकाध प्रसङ्ग छोडेर, नेपालमा प्रचलनमा आएका बैंक नोटमा देखिएका चित्रका बारेमा मात्र यथाशक्य चर्चा गर्ने प्रयास गरिएको छ ।
साथै, बैंक नोटमा सुरक्षण विशेषताका हिसाबले पनि नाङ्गो आँखाले देख्न सकिने/नसकिने अनेकन चित्र र सङ्केतहरू रहेका हुन्छन् । ती विषयवस्तु विशुद्ध चित्रित आकृतिभन्दा पनि पूर्णतया प्राविधिक पक्षका विषय भएकाले
यस लेखमा सोको चर्चा पनि समेटिएको छैन । हाम्रा बैंक नोटमा देखिने चित्राकृतिलाई सामान्यतः देहायबमोजिम वर्गीकरण गरी चर्चा गर्न सकिन्छ :
(क) मठ–मन्दिर
बैंक नोटहरूमा चित्रण गरिएका विभिन्न चित्राकृतिमध्ये सर्वप्रथम मठ–मन्दिरहरूको चर्चा गरिनु आपैmँमा धन्य विषय हुन् । सुरुआतकालदेखि नै हाम्रा बैंक नोटहरूमा (सिक्कामा समेत) धार्मिक र सांस्कृतिक महिमाले ओतप्रोत मठ–मन्दिर लगायत पूज्यस्थलका चित्रहरूको निरन्तर उपस्थिति देखिन्छ ।
यस क्रममा हेर्दा आराध्यदेव पशुपतिनाथ, गुह्येश्वरी, स्वयम्भू स्तुपा साथमा हारती माता, तलेजु भवानी, काष्ठमण्डप, महाबौद्ध (पाटन), बज्रयोगिनी (साँखु), श्रीकृष्ण मन्दिर (पाटन), पाँचतले न्यातपोल मन्दिर (भक्तपुर), राम–जानकी मन्दिर (जनकपुरधाम) आदि सुविख्यात र सुपरिचित छन् ।
यी हाम्रा धार्मिक÷सांस्कृतिक धरोहर हुन्, अविरल आस्थाका केन्द्र हुन् । तसर्थ, बैंक मुद्रा चित्रपटमा यसरी मठ–मन्दिरका चित्रहरूलाई अग्रस्थान दिइनु निश्चय नै वन्दनीय छ, स्तुत्य छ ।
(ख) वन्यजन्तु
नेपाली बैंक नोटहरूमा देखिने चित्रमा अर्को अहम् स्थान वन्यजन्तुको छ । रुपैयाँ पैसाको प्रसङ्गमा गैंडा भन्ने बित्तिकै रु.१०० को नोट र हात्ती भन्ने बित्तिकै रु.१,००० को नोट हाम्रो मानसपटलमा झलक्क आइहाल्छ पनि !
वास्तवमा, बैंक नोटहरूमा वन्यजन्तुका चित्र राखिनुका प्रमुख कारणमा यिनको मौलिक राष्ट्रिय पहिचान त छँदैछ, यसका साथै वन्यजन्तुका चित्र राख्दा सर्वस्वीकार्य हुने÷निर्विवाद रहने, प्रकृति/पर्यावरणलाई मूलमन्त्र मानेको हुने आदि सन्दर्भले भूमिका खेल्दछ । यसै कारणले पनि नेपालका बैंक नोटहरूमा (राजा महेन्द्रका पालाका केही अपवादलाई छोडेर) वन्यजन्तुका चित्र निरन्तर आइरहेका छन् ।
हाम्रा बैंक नोटहरूमा बाघ, चितुवा, कस्तुरी मृग, कृष्णसार, बाह्रसिङ्गा, झारल, याक, गाईलगायत देखिन्छन् । यी सबै चित्रका आ–आफ्नै गरिमा, प्रसङ्ग र परिवेशहरू छन् । यीमध्ये कुनै एक, जस्तो कि; कृष्णसारलाई लिएर यसको सगर्व पुष्ट्याइँ गर्न सकिन्छ ।
संस्कृत वाङ्मयमा कृष्णसारको महिमालाई यसरी वर्णन गरिएको छः
कृष्णसारस्तु चरति मृग यत्र स्वभावतः ।
स ज्ञयो यज्ञियो देशो म्लेच्छदेशस्त्वतः परः ।।
(मनुस्मृति २.२३)
अर्थात्, जहाँ कृष्णसार मृगहरू प्रकृतिवश रमाएर चरिरहेका हुन्छन्, उक्त भूमि नै यज्ञकर्ताको भूमि (देवभूमि÷पूण्यभूमि) हो । हामी कति भाग्यमानी छौँ, यस्तो दैवी वरदानलाई हाम्रो नोटमा चित्रण गर्न पाएका छौँ ।
त्यस्तै, हात्तीको विषयलाई लिएर अर्को प्रसङ्ग पनि छ । रु.१,००० को नोटमा साविकमा रहेको हात्तीको चित्र
नेपालको नभई कुनै अफ्रिकन हात्तीको हो भन्ने विषय उठेपछि हाम्रै चितवन राष्ट्रिय निकुञ्जमा पाइएका ‘राम– लक्ष्मण’ नाम रहेका जुम्ल्याहा हात्तीको (जीवित जुम्ल्याहा हात्तीहरू पाइनुलाई विश्वमै अत्यन्तै दुर्लभ सुखद घटना मानिन्छ) चित्र राखिएको छ ।
पछिल्लो समयमा आएर रु.५ को नोटमा हुम्ला जिल्लाको हिमाली क्षेत्र लिमिमा यदाकदा मात्र देख्न पाइने अत्यन्त दुर्लभ जङ्गली याकको चित्र राखिएको छ ।
(ग) अनुहार चित्र
बैंक नोटमा रहने चित्रहरूमध्ये सबैभन्दा प्रभावकारी, जीवन्त र हेरिने÷देखिने चित्र भनेको नोटको अग्रभागमा रहने व्यक्ति (पोर्टे«ट) फोटोकै हुने गर्दछ । केही विषयवस्तु हात पर्नेवित्तिकै प्रथमतः त्यसमा कोरिएको मानिसको अनुहारमा दृष्टि पर्नु हाम्रो मानवीय स्वभाव पनि हो । हाल सगरमाथाको फोटो राखिएको हाम्रा बैंक नोटहरूमा तत्कालीन समयमा राजाहरूका फोटो राखिने गरिएको विषय हामी सबैलाई अवगत नै छ ।
करिब दुई दशकअघिको मुलुकको राजनीतिक उथलपुथलका बीच नेतृत्वबाट सर्वसम्मत र साहसिक निर्णय नलिइँदा यो विषयले न्याय पाउन सकेको छैन । अन्य जे जस्ता कारण भए पनि एउटा विषय चाहिँ के स्पष्ट छ भने मानिसको अनुहार भएको बैंक नोटमा जुन पूर्णता हुन्छ त्यो अन्य चित्र भएको बैंक नोटमा हँुदैन र हुन सक्दैन पनि ।
बैंकिङ क्षेत्रमा नवप्रर्वतनको आवश्यकता बढ्दै, राष्ट्र बैंकको उदारता जरुरी रहेको विज्ञको भनाई
यस विषयका मूलतः दुई वटा पाटा छन् । पहिलो हो, निज राष्ट्रिय धरोहर, व्यक्तित्वप्रति राज्य र नागरिकले गर्नुपर्ने सम्मान । जसले आफ्नो जीवन–ऊर्जा राष्ट्र निर्माण, राष्ट्र उत्थान र राष्ट्र गौरव अभिवृद्धिमा समर्पित गरे, उनै महामानवप्रति राष्ट्रले बैंक नोटको पोटेर्«ट चित्रको रूपमा राखेर सम्मान गर्नु मूल कर्तव्य हुन आउँछ र संसारभर यस्तै गरिँदै आइएको छ ।
दोस्रो, त्यत्तिकै महत्वपूर्ण विषय भनेको मानिसको अनुहार राख्दा बैंक नोटमा प्राप्त हुने खाँटी सुरक्षण विशेषता हो । अर्थात्, मानिसको अनुहार भएको नोटको नक्कल गर्न सिद्धान्ततः असम्भव हुन्छ किनकि अनुहारको बान्की, आँखाको हेराइ, जुँगाको लम्बाइ आदिबाट सर्वसाधारण जो कोहीले झट्ट हेर्ने बित्तिकै कैफियत केही भए तुरुन्त पत्ता लगाउन सक्ने हुन्छन् ।
अहिले हाम्रा बैंक नोटहरूमा पोर्टे«ट चित्रका रूपमा रहेको सगरमाथा फोटो चित्रका आधारमा हामीले सक्कली/नक्कली दुरुस्त भन्न सक्ने अवस्था छैन, किनकि चित्रमा कहाँ खाल्डो परेको छ अग्लो छ।, कहाँ हिउँ परेको छ/खाली छ कसैले ख्याल गरेको हुँदैन र गर्न सम्भव पनि छैन ।
यदि यसमा मानिसको अनुहार रहने हो भने सो विषयको पहिचान र ठम्याइ तत्काल गर्न सहज र सम्भव
हुने थियो । सोहीबमोजिम नक्कली नोटको कारोबार जस्तो आपराधिक कुकर्म गर्नेहरूमा अंकुश लगाउन र कानुनी दायरामा ल्याउन पनि थप सहज वातावरण बन्ने थियो ।
(घ) विविध
यस्तै हाम्रा बैंक नोटमा देखिने अन्य प्रमुख चित्रहरूमा प्रकृतिको अनुपम उपहार हिमालय पर्वत शृङ्खला र
शिखरहरू हुन्, जस्तो कि; सगरमाथा, अन्नपूर्ण, माछापुच्छे« आदिदेखि ऐतिहासिक, सांस्कृतिक महत्व बोकेका पचपन्न झ्याले दरबार, हनुमान ढोका र त्यस्तै प्राचीन ऐतिहासिक ढुङ्गेधारा (सुन्दरी चोक, ललितपुर) आदि रहेका छन् ।
यसै गरी, ग्रामीण परिवेश झल्काउने हरियाली धान खेत होस् वा रोटेपिङ पनि उत्तिकै रोचक छन् । पछिल्लो समयमा बुद्धको जन्मस्थल, अशोक स्तम्भ राखिनुले नेपाल भगवान् गौतम बुद्धको जन्मस्थल हो भन्ने प्रमाणिक तथ्यलाई नोटमार्पmत सम्प्रेषण गर्न सजिलो भएको छ । मुलुकको पश्चिमी सिमानामा अवस्थित कालापानी लिम्पियाधुरा सहितको नक्सा राखिएको विषयले पनि मुलुकमा राजनीतिक/भौगोलिक सचेतना ल्याउने कार्यमा मद्दत पुगेको छ ।
शब्द चित्र
यसै क्रममा बैंक नोटमा चित्रकै स्वरूप देखिने केही शब्दावलीको चर्चा हुनु पनि प्रासङ्गिक नै ठहर्छ। तत्कालमा खजाञ्ची जनकराजको दस्तखत रहेको मो.रू.१० को बैंक नोटमा लेखिएको र पछि सरकारको निसानछापमा अङ्कित ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ (अर्थात् जन्मदिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा पनि महान छन्) भन्ने शब्दहरूको ओज र गरिमा शब्दमा मात्र वर्णन गर्न कदापि सकिँदैन ।
यी शब्दले जन्म दिने आमा र जन्मिएको ठाउँप्रति सदा सर्वदा समर्पण भावका साथ नतमस्तक रहिरहन हामीलाई निरन्तर घच्घच्याई रहन्छन् । यस्तै, बैंक नोटमै रहेको नेपाल राष्ट्र बैंकको निसानछापमा लेखिएको ‘असतोमा सदगमय’ अर्थात् ‘हे प्रभु ! मलाई असत्य/अज्ञानबाट सत्य/ज्ञानततर्फ लैजानुस्’ भन्ने शब्दावलीले हाम्रो वैदिक सनातन ज्ञान भण्डारको ढुकुटी नै बोलेको प्रतीत हुन्छ ।
यसरी नेपाली बैंक नोटहरूमा विभिन्न कालखण्डमा जे जति शव्दावली परेका छन्, ती सबै अत्यन्त गौरवपूर्ण, गहन र वैश्विक भावहरूले ओतप्रोत छन् । यसरी बैंक नोटहरूमा लेखिएका केही अमूल्य शब्दका माध्यमबाट गहन सन्देश प्रवाह भइरहेका हुन्छन् । थप उदाहरणका लागि भारतीय रुपैयाँमा ‘एक कदम स्वच्छताकी ओर’ लेखी स्वच्छ भारत अभियानअन्तर्गत देशको समग्र वातावरण सफा र स्वच्छ राख्न आह्वान गरिएको छ भने अमेरिकी डलरमा अर्थात् ‘हामी भगवान्मा भरोसा गर्दछौँ’ लेखिएबाट आध्यात्मिक चेतनाको पक्षलाई उजागर गरेको छ ।
यसैगरी, करिब तीन दशक अघिदेखि भारतीय रुपैयाँमा उक्त नोटको दर चिनाउने गरी १५ वटा भारतीय भाषा लेखिएबाट मुलुकको भाषागत विविधतालाई समेट्दै एक सुत्रमा बाँध्ने काम भएको छ ।
बैंक नोटहरूमा देखिने अन्य शब्दको चर्चा गर्नुपर्दा सुरुमा चलनचल्तीका लागि मिति २००२ असोज १ मा जारी गरिएका नोटमा ‘श्री नेपाल सर्कार’ लेखिएको, त्यसपछि क्रमशः ‘श्री नेपाल सरकार’, ‘श्री ५ को सरकार’, पुनः ‘नेपाल सरकार’ लेखिएको पाइनुबाट कसरी देशमा राजनीतिक घटनाक्रम परिवर्तन हुँदै गए भन्ने विषयलाई प्रतिविम्बित गर्दछ ।
साथै, सुरुमा मो.रू. लेख्ने गरिएकोमा पछि आएर रुपैयाँ लेख्ने गरिएबाट समयक्रमसँगै बोलीचालीमा पैसालाई कसरी चिनिन्थ्यो भन्ने विषयलाई पनि स्पष्ट पार्दछ । यसै गरी, साविकमा ‘यसको रुपैयाँ भुक्तान माग्न आएमा सदरमुलुकी खानाबाट … तुरुन्त पाउनेछ’ भन्ने लेखिएकोमा पछि आएर ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तान माग्न आएमा नेपाल राष्ट्र बैंकबाट … तुरुन्त पाइनेछ ।’
लेखिएबाट समयकालसँगै गरिएका भाषागत परिमार्जनका साथै नोटको जमानी सुरक्षण र भुक्तानी प्रक्रियालाई समेत स्पष्ट पारको छ ।
सिक्काको प्रसङ्ग
यसै क्रममा नेपालका केही प्राचीन सिक्काहरूमा अङ्कित/चित्रित केही शब्दचित्रको पनि सङ्क्षिप्त चर्चा गरिनु उपयुक्त हुने देखिन्छ । ईशाको पाँचौँ शताब्दीका लिच्छवि राजा मानदेवले चलाएको मुद्रा (सिक्का) को अग्रभागमा अङ्कित सिंहको चित्र वीरता र पराक्रमको सूचक भएको मानिएबाट परापूर्वकालदेखि नै मुद्रामा अङ्कित चित्र र शब्दले विशिष्ट स्थान राख्ने गरेको विषय स्पष्ट छ । यसै गरी, प्राचीन सिक्कामा अङ्कित कामधेनु, हात्तीले मुलुकमा आर्थिक सम्पन्नता भएको तथा राजाले आफ्नो कर्तव्य बुझेर काम गरी जनतालाई सुख शान्ति दिलाउन सफल भएको कुराको सङ्केत गर्दछ भन्ने विद्वत मत रहेको देखिन्छ ।
प्रा.डा. रमेशकुमार ढुङ्गेलका अनुसार ‘श्रीगुणाङ्क’ अभिलेख भएको मुद्राले ‘आफ्नो बाहुबलले हात्ती घोडाले युक्त सेनाको सहयोगबाट शत्रुलाई दबाएर (नष्ट गरेर) देशमा समृद्धि समेत कायम गरी राजकाज लाउनका लागि आवश्यक षड्गुणसम्बन्धी ज्ञान आफूमा भएको’ भन्ने जनाउँछ ।
संयोगवश फेला पर्न गएको एक सिक्कामा अङ्कित सम्वत्बाट कसरी नेपालको सिक्काको इतिहासलाई नै थप प्राचीन र गौरवशाली बनाइदिएको थियो भन्ने सुन्दर प्रसङ्ग संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीसम्बन्धी लेखनीबाट थाहा हुन्छ । नेपालमा चाँदीका सिक्काको प्रचलन मल्लकालबाट सुरु भएको विषय सरोकारवाला सबैलाई ज्ञात रहे तापनि त्यो कुन मल्ल राजाको पालादेखि सुरु भएको निश्चय भइनरहेको अवस्थामा महेन्द्र मल्लको पालाको चाँदीको सिक्का भेटिएपश्चात् साविकमा सोचिएका राजा ‘महिन्द्र मल्ल’भन्दा झण्डै ५० वर्ष अघिका ‘महेन्द्र मल्ल’ नै नेपालमा चाँदीको सिक्का प्रचलनमा ल्याउने आधिकारिक राजा हुन् भन्ने ठहरिन पुग्यो ।
साथै, सुरुका दिनहरूमा नेपालमा चाँदीका सिक्का प्रचलनमा ल्याउन दिल्लीका मुसलमान शासककहाँ स्वीकृत लिन जानुपर्ने भन्ने कुरामा सत्यता नभएको र मूल विषय, हाम्रो सार्वभौमसत्ता हामीसँगै रहेको स्पष्ट हुन पुग्यो । उक्त चाँदीको मुद्रा उहाँकै सत्प्रयासबाट राष्ट्रिय सम्पत्तिमा जोडिन आएको कथा वृत्तान्त नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रममा उहाँबाट प्रत्यक्ष सुन्न पाउँदा कार्यक्रम स्थल सगौरव तालीको ठूलो गड्गडाहटले गुञ्जायमान भएको थियो ।
रङ सम्मिश्रण
रङ–मिलाप र झट्ट आँखा लाग्ने हिसाबले भन्नुपर्दा स्वर्गीय राजा वीरेन्द्रको गद्दी आरोहणको रजत–महोत्सवको शुभअवसरमा निष्कासित रु.२५० र रु.२५ दरको नोटका साथै नेपाल राष्ट्र बैंकको स्वर्ण जयन्तीको अवसरमा निष्कासन गरिएको रु.५० दरको संस्मरणात्मक नोटहरू विशेष देखिन्छन् ।
यी नोटमा सजाइएका रङ र चित्रहरूको संयोजन विशिष्ट र चित्ताकर्षक छन् । हामी सर्वसाधारणलाई यदाकदा सबै बैंक नोटहरू यस्तै रमाइलो खालको भए हुने थियो भन्ने लाग्छ, तर लागत आदिका हिसाबले यसो गर्न सधैँ सम्भव नहुन सक्छ । यसै क्रममा हेर्दै जाँदा, विगतमा अर्थात् वि.सं. २०२०/३० को दशकका बैंक नोटहरू (उदाहरणका लागि गभर्नर डा. यादवप्रसाद पन्तबाट हस्ताक्षर भएका रु.१००० र रु.५०० सय दरका नोटहरू, गभर्नर कुलशेखर शर्माबाट हस्ताक्षरित रु.५० दरका नोट) अपेक्षाकृत सौम्य देखिन्छन् ।
अर्कोतर्फ, बैंक नोटहरू अत्यन्त सादा राख्दा पनि फिका लाग्दो रहेछ र यसमा केही रङभाव जोडिँदा पनि जीवन्त बन्ने रहेछ । हाल हामीकहाँ प्रचलनमा रहेका बैंक नोटमध्ये रु.१,००० र रु.५०० दरका बैंक नोटहरू तुलनात्मक रूपमा केही सादा र फुस्रा देखिन्छन् । यसै त धुलोमैलो हाम्रो वातावरण, नोटको जतन गर्नुपर्छ भन्ने सामान्य ज्ञानको कमी पनि भएको अवस्थामा चलनचल्तीमा पुगेका केही समयपश्चात् नै यी नोटहरू झनै धुस्रोफुस्रो देखिने गरेका छन् ।
चित्रहरूमा समसामयिक फेरबदल
विगतका कालखण्डमा बैंक नोटहरूमा जे जति चित्रहरू अङ्कित भएका छन्, ती सबै आ–आफ्नो हिसाबले अत्यन्त उत्कृष्ट र गौरवशाली छन् । तथापि यसमा समयक्रमसँगै थप चित्राकृतिहरू समेटिँदै जानु उपयुक्त हुन्छ । यसो गर्दा मूल चित्र जस्तो कि; रु.१००० को नोटमा रहेको हात्ती वा रु.१०० को नोटमा रहेको गँैडाको चित्रलाई नचलाउने तर अग्र÷पृष्ठ भागमा रहेका सहायक चित्रमा केही फेरबदल गर्दै जानु उपयुक्त हुन्छ । जस्तो कि; मठमन्दिरको प्रसङ्गमा काठमाडौं उपत्यकाभित्रका चाँगुनारायण, बुढानीलकण्ठ तथा उपत्यका बाहिरका हकमा क्रमशः पूर्वबाट पाथीभरा, बुढासुब्बा, गढीमाई, मनकामना, विन्धवासिनी, मुक्तिनाथ, स्वर्गद्वारी, त्रिपुरासुन्दरी, वागेश्वरी, शैलेश्वरी, बडीमालिका जस्ता पूज्य आराध्यस्थलको नाम लिन सकिन्छ ।
यस्तै, पवित्र धार्मिक स्थलहरू बराह क्षेत्र, रूरू क्षेत्र आदि, प्रकृतिको अनुमप उपहार सुन्दर तालहरू रारा, गोसाइकुण्ड आदि, सुप्रसिद्ध पर्यटकीय स्थलहरू शैलद्रङ, खप्तड आदि, गौरवमय ऐतिहासिक गढी/दरबारहरू सिन्धुली गढी, मकवानपुर गढी, गोरखा दरबार, नुवाकोट दरबार आदि, ऐतिहासिक पुरातात्विक महत्वका स्थलहरू तिरौलाकोट, माथिल्लो मुस्ताङ आदि, नेपाली भाषाको जननीस्थल कर्णालीको सिन्जा क्षेत्र वा पहिलो अभिलेख पाइएका दुल्लु क्षेत्र आदि ।
अन्य विधातर्पm मौलिक, सांस्कृतिक, परम्परा र धर्म संस्कृति झल्काउने लाखे नाच, मारुनी नाच, मिथिला कला, थारु श्रृङ्गार आदि अनेकन विषय समेटिन सकिन्छ । (यहाँ जे जति नाम वर्णन गरिए ती सबै प्रतिनिधि/प्रतीकस्वरूप उदाहरणको लागि मात्र उल्लेख गरिएका हुन् । भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संसारकै समुन्नत हाम्रो मुलुकमा यस प्रकारका सबै स्थल/संरचनाको नाम उल्लेख गरिनु कदाचित सम्भव पनि छैन र अहिलेलाई इङ्गित मात्र गर्न खोजिएको हो भन्ने स्पष्ट नै छ ।) अब स्वाभाविक प्रश्न उठ्छ कि यसरी अनेकन चित्रमध्ये सीमित दरका बैंक नोटमा केही मात्र पनि फेरबदली गरी राख्न कसरी सम्भव छ ?
यसको सम्भावित विकल्प यो हुन सक्छ कि हामीकहाँ हाल विभिन्न सात दरका बैंक नोटहरू प्रचलनमा छन् । सामान्यतः प्रत्येक दुई वा तीन वर्षमा यिनको नयाँ छपाइ चक्र प्रारम्भ हुन्छ । यसै बखतमा आवश्यक प्रक्रिया र औपचारिकता पूरा गरी यस विषयलाई सम्बोधन गर्न सकिने हुन्छ ।
अन्त्यमा
कुनै पनि बैंक नोटका आफ्नै जादुयी सम्मोहन हुन्छ । अध्येता गगनमान श्रेष्ठ आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ ‘पुराना नोटहरू केवल मुद्रा होइनन्, एउटा युगका मौन नेपाल राष्ट्र बैंक समाचार ज्ञट इतिहास हुन् । इतिहासका ती पुराना कागजी नोटहरू हेर्दा कहिलेकाहीँ पैसाभन्दा पनि समय आपै हातमा समातेको अनुभूति हन्छ ।’ हुन पनि बैंक नोटहरूमा रहेका चित्रल एकै झलकमा उक्त राष्ट्रको समग्र परिचय नै दिने हैसियत राख्छन् । त्यही भएर पनि विदेशबाट फर्कंदा त्यो देशको दुई चार वटा बैंक नोटहरू पनि साथमा ल्याउने चलन नै छ । यसको मुख्य कारण भनेको बैंक नोटका माध्यमबाट ती देशको सम्झनालाई सँगालेर राखौँ भन्ने नै हो ।
आगामी दिनमा विद्युतीय मुद्राको प्रचलन बढ्दै जाँदा बैंक नोटहरूमा यसरी पुस्ताँैदेखि सँगालेर ससम्मान राखिएका चित्रहरूको विस्मरण हुने हो कि भन्ने चिन्ता लाग्नु पनि स्वभाविकै हो । तर व्यावहारिक दृष्टिकोणका साथ मनन गर्दा, आर्थिक वृद्धि सँगसँगै कारोबार लेनदेनमा विद्युतीय मुद्राको प्रचलन जतिसुकै बढे पनि विशेषतः साना कारोबारका लागि भने कागजी मुद्रा/सिक्काहरू कालान्तरसम्म रही नै रहनेछन् र यी कालजयी चित्र शब्दहरू पनि साथमा रहिरहनेछन् भन्ने विषयले सन्तोषभाव दिएको छ।
उपसंहार
क. बैंक नोटहरूमा पोट्र्रेट चित्र रहनुपर्ने विषय स्वयम्सिद्ध छ । पोर्टे«टविनाको बैंक नोट एक प्रकारले भन्नुपर्दा प्राण नभएको मुहार चित्र जस्तै हो । कुनै कालखण्डमा कुनै कारणवश हाम्रा बैंक नोटमा पोर्टे«ट चित्र राख्न नसकिएको वा राख्ने चाह नगरिएको भए तापनि अब आएर यस राष्ट्रिय गौरवको कार्यमा ढिलाइ गर्नुहँुदैन । जसले राष्ट्र निर्माणको जग बसाले, राष्ट्रिय एकताको सन्देश दिँदै राष्ट्र उत्थानकै खातिर आफ्नो जीवन उत्सर्ग गरे, जसले राष्ट्र भाषा दिए, त्यस्ता राष्ट्रिय विभूतिको बैंक नोटहरूमा पोट्र्रेट (अनुहार) चित्रमार्पmत सम्मान गर्न हामीलाई केले रोकेको छ ? चीन, भारत, अमेरिकालगायत सारा विश्वभर हुने, हामीकहाँ मात्र नहुनपर्ने, नमिल्ने भन्ने हुनुहुँदैन । केवल दूरदर्शी सोच र दृढ सङ्कल्प शक्ति भए पुग्छ/मिल्छ ।
ख. बैंक नोटमा रहने सहायक साना चित्र रआकृतिमा समयक्रमसँगै यथोचित् फेरबदल गरिनु उपयुक्त हुन्छ । मेची महाकाली जहीँकहीँ अलौकिक, ऐतिहासिक र अनुपम सम्पदाले भरिपूर्ण भाग्यशाली हामीले अद्वितीय सम्पदाप्रति सम्मान र श्रद्धाभाव प्रकट गर्नका लागि पनि हाम्रा बैंक नोटमा यथोचित् स्थान दिई यथासम्भव सबैलाई समेट्दै जाने प्रयास गर्न आवश्यक छ ।
सन्दर्भ सामग्री
Notes and Coins of Nepal: Nepal Rastra Bank,
Golden Jubilee Year publication, 2005/06
प्राचीन अर्थव्यवस्थाः प्रा.डा. रमेश ढुङ्गेल, मण्डप
पब्लिकेशन हाउस, काठमाडौं ।
सत्यमोहनः गिरीश गिरी, बुकहिल पब्लिकेशन, काठमाडौं ।
नेपालका आधुनिक मुद्राहरू एक समीक्षाः श्याम खतिवडा,
काठमाडौं ।
वार्तालाप/भेटघाट
बैंक नोट चित्रकर्मी श्री सुन्दर श्रेष्ठ, काठमाडौं ।
बैंक नोटविज्ञ श्री विनयराज पाण्डे, काठमाडौं ।
मुद्रा सङ्कलक एवम् अध्येता श्री गगनमान श्रेष्ठ, धरान ।







