काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७३ करोड ९२ लाख रुपैयाँको तुलनामा १५.१६ प्रतिशतले बढी हो।
कम्पनीको खुद बिक्री आम्दानी पनि वृद्धि हुँदै ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो, जसअनुसार बिक्री १०.९९ प्रतिशतले बढेको देखिन्छ। तर, अन्य सञ्चालन आम्दानी भने घटेर ५ करोड ४० लाखबाट ४ करोड ४८ लाख रुपैयाँमा झरेको छ।
सञ्चालनतर्फ कम्पनीको प्रदर्शन अझ सुदृढ देखिएको छ। सञ्चालन मुनाफा बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९८ करोड ६७ लाख रुपैयाँको तुलनामा उच्च हो।
त्यस्तै, कम्पनीको रिजर्भ कोष ८८ करोड ७६ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (EPS) पनि २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ। कम्पनीको पी/ई अनुपात ३७.९५ गुणा, प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ।







