काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग सञ्चालनमा ढिलाइन नगर्न निर्देशन दिएका छन् ।

सभापति गजुरेलले सुरुङमार्गको अनुगमन गर्दै साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।

समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताउँदै पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति असन्तुष्टि जनाए ।

परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए पनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ । उनले भने, ‘आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य हुँदैन ।’

उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताए ।