काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनियुक्त अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । महासङ्घको नेतृत्व सम्हाल्नुअघि उनले व्यवसायिक वातावरण सुदृढ गर्दै आर्थिक उन्नयनमा योगदान दिने बताएका हुन् ।
उनले लगानीकर्ताको सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्य बिना आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे । राष्ट्रको विकासका लागि आपसी साझेदारी अझ मजबुत बनाउनुपर्ने उनको भनाइ थियो ।
वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बनेका श्रेष्ठले विधानअनुसार स्वतः नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् । उनी लामो समयदेखि महासङ्घसँग आबद्ध रहँदै आएका छन् । साथै उनी लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत हुन् ।







