काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण क्रमशः सकारात्मक बन्दै गएको बताएका छन्।
आइतबार ललितपुरमा महासंघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिले निजी क्षेत्रलाई नकारात्मक रूपमा हेरिने गरे पनि अहिले विकासमा योगदान दिने महत्वपूर्ण साझेदारका रूपमा बुझ्न थालिएको बताए।
उनका अनुसार हालको सरकार, झण्डै दुई तिहाइ बहुमतको अवस्थामा पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतामा देखिएको छ। साथै, हालै भएको छलफलमा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीहरू सरकारसमक्ष राखिएको उनले जानकारी दिए।
ढकालले महासंघको आगामी साधारणसभाबाट नयाँ नेतृत्व चयन चुनावी प्रक्रियामार्फत हुने निश्चित भएको उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आग्रह गरे।
नयाँ कार्यसमिति चयनपछि सबै मिलेर महासंघलाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। महासंघको ६० औं साधारणसभा सोमबारदेखि सुरु हुने भएको छ।







