काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् ।
यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् । तर, राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।
बिहीबार राष्ट्रपति कार्यालयबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।
त्यस्तै, शनिबार एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । शनिबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो ।








