काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) युरोपेली संघ (इयू) का २२ देशसहित दक्षिण–पूर्वी एसियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञहरूसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्दैछन् ।

गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका शाहको यो दोस्रो ठुलो सामूहिक कूटनीतिक भेटघाट हो । यसअघि उनले २५ चैतमा नेपालका लागि १७ देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका थिए । प्रधानमन्त्री भएयता उनले नेपाल भ्रमणमा आएका अमेरिकी कूटनीतिज्ञ र बेलायती मन्त्रीहरूलाई भने भेटेका थिएनन् ।

काठमाडौंमा रहेका तथा भारतको नयाँदिल्लीबाट आएका कूटनीतिज्ञहरू सम्मिलित यो उच्चस्तरीय बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा तय गरिएको छ । परराष्ट्र स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री शाहले मन्त्रालयद्वारा तयार पारिएको छोटो लिखित मन्तव्य राख्नेछन् भने इयूसम्बद्ध तथा अन्य राजदूतहरूले आफ्ना धारणा र चासोहरू प्रस्तुत गर्ने कार्यतालिका छ ।

नेपालका दुई मुख्य एजेन्डा: हवाई सुरक्षा र अन्तर्राष्ट्रिय समर्थन
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस भेटघाटका क्रममा प्रधानमन्त्रीले नेपाल सरकारका वर्तमान प्राथमिकताहरू स्पष्ट पार्नेछन् । छलफल मुख्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र सहकार्यका विविध आयामहरूमा केन्द्रित रहनेछ ।

कूटनीतिक अधिकारीहरूका अनुसार नेपालले यस बैठकमा आफ्ना दुई प्रमुख चासोहरूलाई विशेष जोडका साथ उठाउने तयारी गरेको छ:

हवाई सुरक्षा: नेपाली आकाशलाई युरोपेली संघ (इयू) को हवाई सुरक्षा ‘कालोसूची’बाट हटाउनका लागि ठोस पहल र सहयोगको आह्वान गर्ने ।

अन्तर्राष्ट्रिय समर्थन: नेपाललाई अतिकम विकसित देश (LDC) को समूहमा यथावत् राख्नका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने ।