काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्। यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन्।
आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको महानगरपालिकाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनुपर्ने देखिएकाले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। मंगलबार दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेस गर्न भनिएको उनले बताए।
प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको महानगरपालिकाले जनाएको छ।
अहिलेसम्म ८४ जनाको आवेदन महानगरले अस्वीकृत गरेको छ। सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको खड्काले बताए। उनका अनुसार विद्यार्थीहरूको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ। तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नुपर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ। जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ।
आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्नेछन्। परीक्षा केन्द्र र परीक्षासम्बन्धी जानकारी प्रवेश-पत्रबाट प्राप्त गर्न सकिने महानगरले जनाएको छ।
आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फारम भरेका छन्। यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ। व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना छन्।
कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्छ। कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्छ।
परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ। यसपछि म्याचिङ लिस्टबाट नाम सिफारिस हुन्छ। नाम सिफारिस गरिएका विद्यार्थीहरूले कक्षा ११-१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्दैन।






