काठमाडौं । मोबाइलमा आएको शंकास्पद एसएमएसमा रहेको लिङ्कमा क्लिक गर्दा एक व्यक्तिको बैंक खाताबाट करिब ३५ लाख रुपैयाँ अनधिकृत रूपमा चोरी भएको घटना सार्वजनिक भएको छ। उक्त प्रकरणमा १३ जना फरार प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका अनुसार १२ जेठ २०८२ मा सन्तोषकुमार चौधरीको मोबाइलमा ‘द अलर्ट’ नामबाट आएको सन्देशमा रहेको लिंक खोलेपछि साइबर आक्रमण भएको थियो। प्रारम्भमा कुनै असामान्य संकेत नदेखिए पनि भोलिपल्ट बिहान उनको विभिन्न बैंक तथा डिजिटल वालेट खाताबाट लाखौँ रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको पाइएको थियो।

अनुसन्धानअनुसार ह्याकरहरूले फिसिङ लिङ्कमार्फत कनेक्ट आईपीएस प्रणालीमा अनधिकृत पहुँच गरी कुल ३४ लाख ८२ हजार ३७७ रुपैयाँ चोरी गरेका थिए। उक्त रकम पछि योजनाबद्ध रूपमा विभिन्न बैंक तथा वालेटमार्फत तहगत रूपमा स्थानान्तरण गरिएको पाइएको साइबर ब्युरोको अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार सुरुमा रकम केही मुख्य खातामा सारिएको थियो भने त्यसपछि दोस्रो तहका अन्य ९ जनाको खातामा पनि पैसा स्थानान्तरण गरिएको थियो। अनुसन्धानका क्रममा गिरोहले प्रमाण लुकाउन ‘लेयरिङ’ विधि प्रयोग गरेको देखिएको छ।

साइबर ब्युरोको पहलमा चोरी भएको रकममध्ये करिब २० लाख ८ हजार रुपैयाँ फिर्ता भइसकेको छ भने बाँकी १४ लाख ५६ हजार ६ सय रुपैयाँ बिगो कायम गरी अदालतमा दाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता अनुसार ठगी कसुरमा ७ वर्षसम्म कैद र जरिवानाको माग गरेको छ। साथै बिगो रकम असुल गरी पीडितलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।

हाल सबै १३ जना प्रतिवादी फरार रहेको र उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गर्न प्रहरीलाई निर्देशन दिइएको छ।