काठमाडौँ । न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गत साउन २० गते अवकाश लिएका थिए । त्यसपछि वरिष्ठतम् न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायापालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका हुन् । न्यायको क्षेत्रमा उनको लामो अनुभव छ ।

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा पछिल्लो समय काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् ।

कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी विसं २०३८ चैत २७ गते न्याय सेवामा प्रवेश गरेका थिए । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति लिएका उनी विसं २०४१ पुस ११ गतेदेखि शाखा अधिकृतका रुपमा स्थायी नियुक्त भएका थिए ।

विसं २०४५ जेठ ३ गतेबाट उनले न्यायाधीशका रुपमा दार्चुला जिल्ला अदालतमा काम प्रारम्भ गरेक थिए । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा काम गरेको लामो अनुभव छ । उनले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा विसं २०६२ चैत १० गतेदेखि काम सुरु गरेका थिए ।

तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा उनले बागलुङ इजलासमा काम गरे । प्रधानन्यायाधीश श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा पनि न्यायाधीशका रुपमा काम गरे ।

श्रेष्ठ विसं २०७० साउन ८ गते पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश भएङ्का थिए भने २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका रुपमा काम गरे । उनले थाइल्याण्ड, दक्षिण कोरिया, पाकिस्तान, फिलिपिन्स र जापानको भ्रमण गरेका छन् । उनले सन् २००४ मा गोरखा दक्षिण बाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिण बाहु चौँथो प्राप्त गरेका थिए ।

विसं २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम गर्न थालेका उनले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीशका रुपमा काम गरिरहेका थिए।