काठमाडौं । चेम्बर अफ कमर्सले गत शुक्रबार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने विश्वास लिएको छ ।

मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेको भन्दै चेम्बरले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा जोड दिएको हो । नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेट मार्फत सम्वोधन गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको आर्थिक मन्दी र लगानीमा देखिएको संकुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन । आर्थिक स्थायीत्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ ।’

नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरु घोषणा हुने तर कार्यन्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भएता पनि सिमित श्रोत र साधनका कारण कार्यन्वयनको पाटो जोखिममै रहेको चेम्बरको ठहर छ ।

नीति तथा कार्यक्रम कनिका छरेजस्तो बनाउने भन्दा आर्थिक विकासको जग बसाल्ने गरी आउनुपर्ने चेम्बरले जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले सरकारी खर्चमा मितव्यायिता कायम गर्न खोज्नु सकारात्मक भएको अध्यक्ष मल्लले बताए ।