काठमाडौं । मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।
बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरले जानकारी दिएको छ ।
जहाजमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु रहेका थिए । १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर पुगेका छन् ।
बिहान जहाज उड्ने बेलामा जनकपुरको मौसम ठिक भएको र आवश्यक भिजिबिलिटी भएको कारण जहाज उडेपनि मौसममा आएको समस्याको कारण कम भिजिबिलिटी भएर जहाज ल्यान्ड गर्न नसकेको स्रोतको भनाई छ ।








